अमित मेडिसिनको कर चुक्ता प्रमाणपत्रमाथि छानविन गर्न औषधी व्यवस्था विभागको आग्रह
टेण्डर हत्याउन धनगढीको अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपपछि औषधी व्यवस्था विभागले छानविन गर्न आग्रह गरेको छ। गेटाँ आँखा अस्पतालको गत आर्थिक बर्षको औषधी खरीदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको भन्दै उजुरी परेपछि औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले छानविन गर्न आन्तरिक राजश्व कार्यालय कैलालीलाई आग्रह गरेको हो।
विभागकी प्रमुख निनु श्रेष्ठले सत्थतथ्य छानविन गरी जानकारी गराउन राजश्व कार्यालयलाई आग्रह गरेकी छिन्। अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो।
सो प्रमाणपत्रमा कर अधिकृत रामबोली साम्बाहाम्फले हस्ताक्षर रहेका छन्। तर उनको २०७४ असोजमै धनगढीबाट सरुवा भइसकेकोले अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको आरोप लाग्दै आएको छ।
सरुवा भएका कर अधिकृतको हस्ताक्षर स्क्यानिङ गरी मेडिसिनले कर चुक्ताको प्रमाणपत्र बनाईएको आरोप लागेको हो। अमित मेडिसिनले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले गेटा आखा अस्पतालबाट कागजपत्रहरु नियन्त्रणमा लिएको थियो।