महेन्द्रनगर युवक मृत्यु प्रकरण :युवती सहित तीनजना कारागार चलान
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको पुष्पाञ्जली होटलको पाचौँ तलाबाट खसेर ज्यान गुमाएका भनिएकी २२ वर्षीय अजय चौधरी प्रकरणमा युवती सहित तीनजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। चौधरीको हत्या आशंकामा पक्राउ परेकी कञ्चनपुरकै एक २३ वर्षीया युवती, उनका सहकर्मी विनोद खत्री र रमेश भट्टलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले गत आईतबार जिल्ला अदालतले युवती सहितका तीनजनालाई पुर्पक्षका लागि कारागार चलान गरेको जानकारी दिए। यस्तै होटलका व्यवस्थापक जगदिश जोशी भने तीन लाख धरौटी बुझाएर रिहा भएको प्रहरीले जनाएको छ।
गत कात्तिक ११ गते राति महेन्द्रनगरको पुष्पाञ्जली होटलमा साथीसँगै मदिरा सेवन गरेका चौधरी मृत अवस्थामा भेटिएका थिए। होटलको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको भनिएको थियो तर युवकसँगै होटलमा भेटिएकी युवती र उनका दुईजना सहकर्मीले हत्या गरेको आशंकामा प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो।