सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड क्षेत्रमा हिमपात

फाइल फोटो
फाइल फोटो
२०७६ मंसिर १३, ०७:०२

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण एकाएक चिसो बढेको छ। हिमपात भएसँगै वन्यजन्तु तथा खप्तड आसपासका स्थानीयवासीलाई आवतजावत तथा काम गर्नमा समस्या भएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक वार्डेन प्रकाशबहादुर शाहले बताए। उनले भने “बिहीबार रातिदेखि बाक्लो हिमपात भएको छ, हिमपातले स्थानीय तथा वन्यजन्तुलाई आवतजावत र काम गर्नमा समस्या भएको छ।”

खप्तडसँगै जिल्लाका उच्च हिमाली भेगहरु देउताल, केदार, गुनडमा पनि हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन्। हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ। हिमपात बिहीबार साँझदेखि शुरु भएको हो। यहाँका उच्च लेकाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ। आकाशको पानीले खेती गर्नुपर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका थिनन्। 

पानी पर्न थालेपछि किसानलाई खेती लगाउन सजिलो हुने भन्दै खुशी भएका छन्। बिहीबार साँझपखबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, डडेल्धुरा, बाजुरा, अछाम, बझाङ, दार्चुला र डोटीमा एकाएक मौसम बदली भएको थियो। यहाँका अन्य जिल्लामा हिमपात नभए पनि बाजुरा र डोटीका उच्च लेकाली भेगमा भने हिमपात भएको हो।-रासस

कमेन्ट लोड गर्नुस