सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लवाङ्गी पूजा तथा साँस्कृतिक महोत्सव सुरु

२०७६ मंसिर १२, ०७:१९ खबर संवाददाता

कैलाली: कैलालीमा लवाङ्गी पूजा तथा साँस्कृतिक महोत्सव सुरु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिकाको घोडाघोडी मन्दिर परिसरमा घोडाघोडी तथा संस्कृति संरक्षण समाज कैलालीको आयोजनामा घोरीघोरा लवाङ्गी पुजा तथा साँस्कृतिक महोत्सव सुरु भएको हो।

घोडाघोडी तालको प्रचारप्रसार, थारु परम्परा, कला, संस्कृतिको प्रर्वद्धन तथा जगेर्ना र धार्मीक क्षेत्रमा संरक्षणका लागि महोत्सवको आयोजना गरिएको  बताइएको छ। महोत्सवमा थारु समुदायको पुरानो गुरुवाहरुद्धारा नाचिने बडका नाच, महिलाहरुद्धारा सामुहिक नाचिने सखिया नाच, लाठि नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, थारु तथा मगर समुदायको नाच प्रस्तुत गरिने छ।

स्थानीय प्रतिभाहरुको संरक्षण सम्र्वद्धन साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा थारु समुदायको पहिचानलाई चिनाउनका लागि महोत्सवमा विभिन्न प्रस्तुती रहनेछन्। महोत्सवमा थारु संस्कृतिका व्यावसायिक सामाग्रीको प्रदर्शनी, स्थानीय गाउँको झाक्री प्रदर्शनी, राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको प्रस्तुती, थारु जनजाती तथा आदिवासी समुदायको रहनसहन भेषभुषाका साथै विभिन्न थारु नाचको प्रस्तुती समेत रहने आयोजक घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष जगुराम चौधरीले बताए। 

घोरीघोरा मन्दिर विशेष गरी थारु समुदायको कुलदेवताको रुपमा चिनिने भएकाले यसको धार्मिक मान्यता तथा महत्व रहेको थारु समुदायका अगुवाहरु बताउँछन्। नयाँ पुस्तालाई घोरीघोराको कुलदेवताको महत्वको  र थारु रितिरिवाजमा पुजा गर्ने विधि, परम्परालाई जानकारी दिन महोत्सवको आयोजना गरिएको हो उनले बताए। 

थारु संस्कृति पहिचानको लागी “हमार संस्कृति हमार पहिचान, थारु संस्कृति जोगाई पर्ना हमार अभियान” भन्ने नाराका साथ मंसिर  १५ गते विवाह पञ्चमीसम्म महोत्सव सञ्चालन हुने छ। महोत्सवको एक कार्यक्रमका बिच घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीले उद्घाटन गरेका थिए।

 

कमेन्ट लोड गर्नुस