हावाहुरी पीडित कैलाली, कञ्चनपुरका केरा किसानले ६ महिना सम्म क्षतीपुर्ती पाएनन
सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरीले क्षती पुगाएको ६ महिना सम्म क्षतीपुर्ती वितरण नगरेपछि कैलाली कञ्चनपुरका केरा किसान चिन्तित भएका छन्। हावाहुरीका कारण केरा व्यवसायमा ठुलो क्षती भएपनि क्षतीपुर्ती वितरणमा ढिलाई गरिएको हो।
‘हावाहुरीले क्षती पुगाएपनि सरकारी स्तरबाट कुनै सहयोग भएको छैन्,’ कैलालीको गोदावरीका केरा किसान लक्षिराम आचार्यले भने, ‘केरा किसानहरु पलायन हुने अवस्थामा पुगेका छन्।’
हावाहुरीकै कारण झण्डै साढे तीन करोड लगानी डुबेपछि पलायन हुनुपर्ने अवस्था आएको किसानहरुले बताएका छन्। गत जेठ २३ गतेको हावाहुरीपछि दुवै जिल्लामा केरामा पुगेको क्षतीको विवरण संकलन गरिएको भएपनि राहत वा क्षतीपुर्तीका लागि भने सरकारी स्तरबाट ठोस पहल हुन सकेको छैन्।
कैलालीका ४७ किसानको एक करोड ८० लाख र कञ्चनपुरका एक सय बढि किसानले लगाएको केरा खेतीमा एक करोड ६७ लाख क्षती भएको थियो। झण्डै तीन करोड ४७ लाख भन्दा बढीको केरा किसानको क्षती भएको छ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी सहितको टोलीले स्थलगत अनुगमन समेत गरेको थियो। अनुगमन गरेको आधा वर्ष भएपनि प्रदेश सरकार मौन रहेको केरा किसान सुरेन्द्र चौधरीले बताए।
केरा किसानलाई राहत वितरणका लागि प्रदेश सरकारसंग मापदण्ड र बजेटको अभाव देखिएको छ। प्रदेश सरकारले मापदण्ड निर्माणमा ढिलाई गर्दा राहत वितरणमा पनि समस्या भएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बताईन्।