सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ लेन सडकमा पाईप लाईन विस्तार गर्न खानेपानी संस्थान धनगढीको अटेरी

२०७६ मंसिर ६, ०४:३६ कमल सावद

निर्माणाधिन मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने पाईप लाईन विस्तार गर्न अटेरी गरिएको छ। नेपाल खानेपानी संस्थान धनगढीले छ लेन सडकको केही भागमा कालोपत्रे गर्ने तयारी भएका बेला समेत नयाँ पाईप लाईन विस्तारको काम सुरु नगरेको हो।

सडक योजना कार्यालय र खानेपानी संस्थानबिच पुरानो पाईप लाईनलाई विस्थापीत गर्दै नयाँ लाईन विस्तार गर्ने सहमती भएको थियो। ६ लेन सडकको पश्चिम तिरको लाईन संस्थानले र पूर्व तिरको लाईन योजना कार्यालयले विस्तार गर्नुपर्ने हो।

तर सडक कालोपत्रेको तयारी हुँदा पनि नेपाल खानेपानी संस्थानले पाईप लाईन विस्तारको सुरुवात समेत नगरेको हो। नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख अरविन्द्रलाल कर्णले यो विषयमा प्रतिकृया दिन मानेनन्।

संस्थानले फाप्ला खानेपानी योजना मार्फत पाईप लाईन विस्तार गर्ने संस्थानले बताएको थियो। प्रमुख कर्णले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। उनलाई पटक–पटक टेलिफोन गर्दा समेत कुरा नबुझेको भन्दै पन्छीए। सडकको पूर्वी क्षेत्रमा योजना कार्यालयले चार दशमलव पाँच किलोमिटर नयाँ खानेपानीको पाईप लाईन विस्तारका लागि गत असार २६ गते निर्माण कम्पनीलाई कार्य आदेश दिएको थियो।

योजना कार्यालयको रकम मार्फत विस्तार हुने नयाँ पाईप लाईनको काम अहिले आएर निर्माण कम्पनी शर्मा–अमर–नागाअर्जुन जेभीले विस्तार गरिरहेको छ। तर नयाँ पाईप लाईन विस्तारको कामले पनि तिव्रता पाएको छैन्।

यता मोहनापुल–अत्तरिया ६ लेन सडक योजनाका योजना प्रमुख होमबहादुर एसीले पूर्वी क्षेत्रको पाईप लाईन विस्तारको काम अन्तिम चरणमा रहेको बताए। उनले भने, ‘निर्माण कम्पनीलाई असार २६ गते खानेपानी पाईप लाईन विस्तारका ढिलो गरी मात्र काम थालियो। अहिले काम अन्तिम चरणमा रहेको छ।’

योजना कर्यालयले ९१ लाख ९७ हजार नौ सय ७१ म चार दशमलव पाँच किलोमिटर नयाँ खानेपानी पाईप लाईन विस्तारको काम थालेको हो। नयाँ पाईप लाईन विस्तारमा ढिलाई हुँदा उपभोक्तालाई समस्या हुने देखिएको छ भने, सडक कालोपत्रेपछि पनि पाईप फुट्ने चिन्ता छ।

कालोपत्रेको तयारी थालिएकाले खानेपानीको पाईप फुटे गुणस्तर पनि कमजोर हुने योजना कार्यालयका प्रमुख एसीले बताए। ‘खानेपानीको पाईप माथि सडक निर्माणको तयारी गरिएको छ। उनले भने,‘कति बेला पाईप फुट्छ थाहाँ हुदैन्। पाईपमाथि कलोपत्रे गरे गुणस्तरमा पनि समस्या हुन्छ।

लाईन काटिए उपभोक्तालाई पनि समस्या हुन्छ।’ मोहनापुल–अत्तरिया ६ लेन सडक योजनाको अहिले सम्म भौतिक प्रगती ५८ प्रतिशत छ। तीन खण्डको तीन ठाउँमा कालोपत्रेका लागी तयारी थालिएपनि खानेपानी संस्थानले फाप्ला खानेपानी योजनाको रकम मार्फत सडकको पश्चिम तिर नयाँ पाईप लाईन विस्तार गर्ने सहमती भएको थियो। तर अझै काम सुरु नभएको हो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस