सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जन्ती ओसार्न समन्वय समिति र नगरपालिकाका प्रमुखको गाडी प्रयोग

२०७६ मंसिर ६, ०२:२५ खबर संवाददाता

धनगढीमा कर्मचारीको जन्ती ओसार्न सरकारी गाडीको प्रयोग गरेको पाईएको छ। अछामको मंगलसेन नगरपालिकाका लेखापाल दिपकप्रसाद भण्डारीको विवाहमा जन्ती ओसार्न सरकारी गाडीको प्रयोग गरिएको हो।

तारानगर घर भएका भण्डारीको विवाहमा जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवर र मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहोराको गाडी प्रयोग गरिएको छ। समन्वय समितिका प्रमुख कुँवरको बा २ झ ११८४ नम्बरको स्कारपियो गाडी र मंगलसेन नगरपालिकाका प्रमुख बोहोराको प्रदेश ३.०१,००२ झ ४९७१ नम्बरको गाडीले धनगढीमा जन्ती ओसारिरहेको छ।

तर मंगलसेन नगरपालिकाका प्रमुख बोहोराले प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर शाहीलाई नेपालगञ्ज पु¥याउन बीहिबार अछामबाट सुर्खेतको बाटो हुदै गएको बताएका छन्। उनले भने, ‘मेरो गाडी त हजुर प्रमुख प्रशासकिय अधिकृतलाई नेपालगञ्ज  छोड्न गएको थियो, धनगढी कसरी पुग्यो त्यसो नहोला हजुर।’

प्रमुख प्रशासकिय अधिकृत शाहीले जन्ती ओसार्न नभएर काठमाडौँ जान आएको तर कर्मचारीको विवाह भएकाले सहभागी भएपनि जन्ती ओसारेको आरोप गलत भएको बताए। जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले आफू काम विशेषले दुई दिन अघि धनगढीको आएको तर लेखापाल सरद ढुङ्गानाले आफन्तको विवाहमा खाना खान जान्छु भनेपछि गाडी दिएको स्वीकार गरे।

लेखापाल ढुङ्गानासंग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन्। पछिल्लो समय विभिन्न बाहानामा सरकारी गाडी दुरुपयोग गर्ने क्रम बढ्दै गएको छ।  जनप्रतिनिधी र कर्मचारीले व्यक्तिगत काम प्रयोजन, सार्वजनिक विदा, आफन्तको विवाह लगायतमा सरकारी गाडीको प्रयोग गर्ने गरेका छन्।  

कमेन्ट लोड गर्नुस