सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेपत्ता पत्रकार तेजुको कंकाल भेटियो

२०७६ मंसिर ४, ०१:५३ खबर संवाददाता

बाजुराको बूढीनन्दा दर्शन गरेर फर्किने क्रममा बेपत्ता पत्रकार तेजु खड्काको परिचयपत्रसँगै मानव कंकाल भेटिएको छ । गत भदौ ९ गते बाजुराको प्रसिद्ध धार्मिकस्थल बुढीनन्दाबाट जनैपूर्णिमाको मेला भरेर फर्किने क्रममा उनी सम्पर्क्विहीन भएका थिए।  बाजुराको बूढीनन्दा नगरपालिका–३ मा पर्ने लौरीबिनायकको जंगलमा खड्काको परिचय खुल्ने सामग्री भेटिएको प्रहरीले जनाएको छ। सामाग्री भेटिएकाले तेजुको मृत्यु भएको हुन सक्ने प्रहरी आशंका छ। यद्यपी कंकाल उनको हो–होइन मेडिकल रिपोर्टपछि मात्रै जानकारी हुनेछ।  जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटका अनुसार कंकालसँगै परिचयपत्र, लाइसेन्स, झोलालगायत सामग्री भेटिएको छ। स्थानीय पदम रोकायालगायतले जडिबुटी खोज्ने क्रममा जंगलमा पर्स, झोलालगायतका सामग्री भेटाएपछि प्रहरीलाई खबर गरेका थिए। 

स्थानीयकै खबरका आधारमा प्रहरी टोली लौरीबिनायकको जंगलतर्फ गएको र त्यहाँबाट सामग्री संकलन गरिएको सुदूरपश्चिम प्रदेशका डीआईजी तारणी लम्सालले बताए। अन्य सामग्री बरामद भएकै स्थानमा दुईवटा हड्डीसमेत फेला परेको छ। खड्का हराएको क्षेत्रमा तीव्र गतिमा हावा चल्ने भएकाले हावाले उडाएर भीरमा लडाएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। रेडियो नेपालको दिपायल क्षेत्रीय प्रशारण केन्द्र हुँदै केन्द्रीय प्रशारण सिंहदरबारमा समेत काम गरिसकेका पत्रकार खड्का पछिल्लो समय बाजुराको कोल्टीस्थित रेडियो बुढीनन्दामा स्टेशन म्यानेजरको रुपमा कार्यरत थिए। बुढीनन्दामा मेला भरेर झण्डै ५ घण्टाको दूरीमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रमा पुगिसकेपछि उनी थर्मस छुटेको भन्दै मेलास्थल फर्केका थिए। त्यसपछि उनी सम्पर्कमा आएका थिएनन्।

धार्मिकस्थल बुढीनन्दा समुद्री सतहबाट झण्डै ४२ सय मिटरको उचाइमा रहेको र पत्रकार खड्का ४१ सय मिटरको उचाइ क्षेत्रमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रबाट सम्र्पकविहीन भएका थिए। नेपाल प्रेस यूनियन डोटीका संस्थापक अध्यक्ष खड्काको खोजी तथा उद्धारका लागि पत्रकार महासंघले महासचिव रमेश विष्टको संयोजकत्वमा मिसन टोलीसमेत गठन गरेको थियो। त्यस्तै प्रेस यूनियनले पत्रकार खड्काको खोजी तथा उद्धारका लागि अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा छुट्टै मिसन टोली पनि गठन गरेको थियो।

घटनास्थलमा पत्रकारको परिचयपत्र, कालो कलरको ज्याकेट, टिसर्ट (माटोले कलर छुट्याउन नसकिने), गुलावी कलरको झोला ः (उक्त झोलाभित्र सामसङको पावर बैंक) मोबाइल चार्जर र कालो रंगको पाइन्ट, डायरी, भित्रि कपडा, छातिको करङ–२ वटा, झोलाभन्दा ५ मिटर माथि सामसङ कम्पनीको मोबाइल एउटा, हड्डीभन्दा ५० मिटर माथि आर्मी कलरको रेनकोट लगायतका सामानहरु भेट्टिएका छन्।

कमेन्ट लोड गर्नुस