धनगढी बम काण्डका आरोपी सेरेलाकी श्रीमती कारागारबाटै पक्राउ
धनगढीमा भएको बम बिस्फोटमा संग्लन रहेको आरोपमा पक्राउ परेका कञ्चनपुरको बेल्डाँडीका लक्ष्मण सेरेलाकी श्रीमती पक्राउ परेकी छिन्। गत साउन २ गते भएको धनगढी बिस्फोटमा परि घाईते भएका सेरेलालाई उपचारपछि प्रहरीले पक्राउ गरेकोमा उनलाई भेट्न गएकी सेरेलाकी श्रीमती बिमलालाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई भेट्न जिल्ला कारागार पुगेकी बिमलाले टिफिन बक्समा राखेर मोवाईल दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। टिफिन बक्समा राखेर मोवाईल दिएपछि उनलाई पक्राउ गर्दा प्रहरीमाथि दुव्र्यवहार समेत भएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।
उनी विरुद्ध सार्वजनिक र अभद्र व्यवहारमा मुद्धा दर्ता गरिने उनले बताए। लक्ष्मण सेरेला पुर्पक्षका लागि कारगार चलान भएका थिए। उनी विरुद्ध राजद्रोह, ज्यान सम्वन्धी कसुर, हातहतियार तथा खरखजना र विस्फोटक पदार्थ तथा संगठीत अपराधमा मुद्धा दर्ता भएको थियो।
साउन २ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को शहिद गेट नजिकै रहेको निलम होटलमा बम विस्फोट हुँदा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१४ का रामबहादुर सिंहको मृत्यु भएको थियो भने अन्य चार जना घाईते भएका थिए।
भारतीय नागरिक मोविन खान, धनगढी उपमहानगरपालिका ४ का स्थानीय एंव अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डे घाईते भएका थिए। मृतक सिंहले टिफिन बक्समा फिट गरेको बम झोलामा राखेर पिठ्युमा बोक्दै घाईते सेरलासंग होटलमा आएको र भित्तामा ठोक्किएपछि बम बिस्फोट भएको प्रहरीले जनाउँदै आएको छ।