सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा १४ हजारको खसी खुवाएर उपभोक्ता समिति गठन

भोजमा काटिएको खसी
भोजमा काटिएको खसी
२०७६ मंसिर २, १२:०५

धनराज विक –योजना फरफारक र सम्पन्न भएपछि भोज खुवाएको, खाएको कुरा त सुनिदै आएको थियो। तर कैलालीमा भने योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न पूर्व नै भोज खुवाएको कुरा बाहिरिएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा १४ हजारको खसी सहितको भोज खुवाएर उपभोक्ता समिति गठन गरेको पाईएको छ। वडाको चरैलामा रहेको मिलन खोलामा वनभोज स्थल छनोटका लागि गएको टोलीले १४ हजारको खसी खाएर उपभोक्ता समिति गठन गरेको हो।

१० लाखको लागतमा अनुमान गरिएको योजनामा वडा अध्यक्षले सीमित व्यक्तिलाई पत्राचार गरी डाकेर भोज खुवाउदै समिति गठन गरेका हुन्। वडा अध्यक्ष नेत्र मगरले स्थानीय २० जनालाई कात्तिक ३० गते पत्र काट्दै शम्भुसुनन्दा आधारभूत विद्यालयमा बोलाए।

ती व्यक्तिलाई दुई घण्टा पैदल हिडाएर भोज खुवाउदै नरबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ। सीमित व्यक्तिलाई पठाईएको पत्रमा आर्थिक वर्ष २०७६÷७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मिलन खोलामा पिकनिक स्पोट निमार्णको लागि स्थान छनौट गर्ने उल्लेख गरिएको थियो तर त्यहाँ भोज खुवाएर समिति गठन गरियो।

यसरी खसी खुवाएर गुपचुपमा जंगलमा उपभोक्ता समिति गठन गरिएपछि विरोध भएको छ। स्थानीय भेषबहादुर विष्टले प्रक्रिया पूरा नगरी जनतालाई झुक्याएर जङ्गलमा गठन गरिएको उपभोक्ता समिति मान्य नहुने बताए। वडा अध्यक्षकै पत्र अनुसार मिलन खोला पुगेका स्थानीय खेमराज न्यौपानेले माईन्युटमा उपस्थिती जनाउन आग्रह गरेको तर मासुभात खाईरहेका देखेर आफूले हस्ताक्षर नगरेको प्रतिक्रिया दिए।

अर्का स्थानीय टंक जोशीले जंगलमा पिकनिक स्थल बनाउनु भन्दा शिक्षा, स्वास्थ्यमा बजेट विनियोजन गरेको भए राम्रो हुने जनाए। तिल्काका जुगराम चौधरीले पिकनिक स्थल निर्माण उपभोक्ता समिति गठन हुँदा वडा सचिवको उपस्थित नभएको बताए।

उनले वडाका जनप्रतिनिधिले आफूखुसी समिति गठन गरेको जनाए। वडा सचिव लिलबहादुर खत्रीले पनि पिकनिक स्थल निर्माणका लागि उपभोक्ता समिति गठन गरेको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए। उनले समिति गठन भएको कुरा सुन्दा अचम्मीत बनाएको पनि बताए।

भोजमा सहभागी हेमन्तबहादुर बुढाले आफूलाई वडा कार्यालयले नबोलाए पनि पार्टी (नेकपा)का साथीहरुको आग्रहमा गएपनि आधा बाटो बाटै र्फिता भएको बताए। उनले खसी पनि लगिएका थाहा पाएपछि फर्किएको बताएका छन्। ‘तर उपभोक्ता समितिको अध्यक्षमा कांग्रेस निकटका र सचिवमा आफूलाई राखेको थाहा पाएको हुँ ,’उनले भने। उक्त निर्णय आफूलाई मान्य नहुने भन्दै गाउँमा पुनः समिति गठन गर्नुपर्ने बताए।

स्थानीय भरत बिकले आफ्नो घरबाट १४ हजारमा खसी किनेर लगेको स्वीकार गरेका छन्। आफू त्यहाँ पूग्दा खसी काटेर भोजभतेर लगाईएको पाएको बताए। तर त्यसरी खसी खुवाएर उपभोक्ता समिति गठन गर्नू गैर कानूनी भएको उनले बताए। भोजमा मासुभातमा २० हजार खर्च भएको हिसाब सुनाइएको उनी बताउँछन्।

भोजमा भएको खर्च पिकनिक स्थल निर्माणको १० लाखबाट नभई वडा कार्यालयको विविध बजेटबाट खसी खरिद गरी खानपिनको व्यवस्था गरिएको वडा सदस्य प्रवल रोकायाले बताए। वडा अध्यक्ष नेत्र मगरले पाँच जनाको उपस्थितीमा पनि समिति गठन गर्न सकिने भन्दै सबैलाई समेटिएको दावी गरे। 

कमेन्ट लोड गर्नुस