सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा उपभोक्ता समितिले दोब्बर काम गरेर अढाइ लाखको योजनामा पचास हजार बचायो

२०७६ कार्तिक २९, ०४:१४

कैलालीको जानकी गाउँपालिकामा गठन भएको एक उपभोक्ता समितिले साढे दुई लाखको योजनाबाट प्राविधिकको लागतभन्दा दोब्बर बढी काम गरेर रु ५० हजार बचाएको छ। जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट वडा नं ३ को भगतपुर बरका पुरुवा हुँदै मुख्य सडक जोड्ने बाटो निर्माणबाट बचेको रु ५० हजार गाउँकै युवा सञ्जाललाई उपभोक्ता समितिले हस्तान्तरण समेत गरेको छ।

गाउँपालिकाले विनियोजन गरेको बजेटबाट ४२१ मिटर सडकमा माटो पटानी तथा नालीको निकासका लागि रु दुई लाख ५० हजार र जनश्रमदानको रु ६२ हजार १३५ गरी रु तीन लाख चार हजार ६३ को लागत तयार भएको थियो।

उक्त रकमबाट उपभोक्ता समितिले ९७० मिटर सडकमा माटो पटानी तथा नालीको निकास गरी रु ५० हजार बचत गर्न सफल भएको उपभोक्ता समितिका अध्यक्ष भक्तराज देवकोटाले बताए। उपभोक्ता समितिले सडक निर्माण भएर बचत भएको उक्त रु ५० हजार वडा नं ३ भगतपुरमा रहेको घोडाघोडी देउता युवा ओजरार घरको स्तरोन्नतिका लागि भन्दै एक कार्यक्रमको आयोजना गरी सहयोग गरेको छ।

उनले पछिल्लो समयमा जनप्रतिनिधि र कर्मचारीले ठेकेदार तथा उपभोक्ता समितिसँग मिलेर लाखौँको भ्रष्टाचार गर्दै आएकामा आगामी दिनमा युवाले समुदायस्तरमा यस्ता उदाहारणीय काम गरी भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन पर्नेमा जोड दिए। बाटो निर्माणको काम गत आर्थिक वर्षमै सके पनि बचत भएको रकम आवश्यकताका आधारमा सबैको प्रतिनिधित्व हुने र स्थानीयवासीको सुझाव सल्लाहका आधारमा सो घरको स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको बताइएको छ।-रासस

कमेन्ट लोड गर्नुस