कैलालीका बजारमा दूषित र मिसावटयुक्त खाद्य वस्तुको विगविगी
नियमनकारी निकायको उदासिनताले चाडपर्वका बेला कैलालीका बजारमा दूषित र मिसावटयुक्त खाद्य वस्तुको विगविगी छ। यस्ता गतिविधि रोक्न भन्दै सरकारी निकायले चाडपर्व लक्षित बजार अनुगमन गर्दै आएको छ तर पनि उपभोक्ता भने मिसावटयुक्त खाद्य वस्तुको खरिद गर्न बाध्य छन्। नियमनकारी निकाय भन्दा गलत मनसाय राखेर व्यवसाय गर्नेहरू हावी हुँदा छिटफुट रूपमा हुने अनुगमन प्रभावकारी बन्न सकेको छैन्।
अहिले बजारमा हानीकारक पदार्थ मिसावट गरिएको मिठाई खुलेआम बिक्रि भईरहेको छ। चिकित्सकहरुले यस्ता मिसावटयुक्त खाद्य वस्तु खादा स्वास्थ्यमा असर पर्ने भएकाले विशेष ध्यान दिन सुझाव दिएका छन्। चाडवाडका बेला समान्य समयको भन्दा बजारमा मिठाईजन्य परिकारको कारोवार बढि हुने हुने भएकाले व्यपारीहरुले पनि मिसावट गर्दै मौकाको फाईदा उठाईरहेका हुन्।
धनगढीमा रहेका अधिकांश मिठाई पसलहरुले अखाद्य रंग मिसाइएका मिठाईहरु बिक्रि गरिरहेका छन्। चाडपर्वका बेला बजार अनुगमनको डम्फु बजाउने स्थानीय प्रशासनले मिठाइजन्य वस्तुको कारोबार बढि हुने बेला वास्ता नगरेपछि उपभोक्ता जस्तो पायो त्यस्तै मिठाई खान बाध्य भएका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले केही दिन अगाडी गरिएको अनुगमनका क्रममा पनि धनगढीका केही पसलमा मिठाईमा अखाद्य वस्तु प्रयोग गरेको भेटिएको थियो। तर अहिले भने अनुगमन गरिएको छैन्। तर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी दिपक कुवंरले धनगढीका २५ मिठाई पसलमा अनुगमन गरिएको बताए।
‘दशैँ र तिहारको समयमा हामीले २५ मिठाई पसलहरुमा अनुगमन गरेका छौ। उनले भने, पाँच ओटा मिठाई पसलमा अखाद्य मिठाई भेटिएको थियो। जफत गरेर नष्ट गरेका छौ।’ धनगढीमा अधिक मात्रामा रंग हालिएका, फोहोर ठाँउमा राखिएका, दुधबाट बनेका मिठाईका परिकारहरु सडेका पनि पाइएको छ।
मिठाईलाई आकर्षक देखाउन रंग हालिएको भएपनि स्वास्थ्यका लागि भने हानिकारक हुने चिकित्सकहरु बताउछन्। ‘आँखाले हेरेर स्वास्थ्यका लागि हानिकारक मिठाई छुट्याउन सकिदैन्। सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्माले भने, ‘गुणस्तर उत्पादकले बनाउने हो। तर मिठाईमा बोसोको मात्र बढि हुनु हुदैन्। मिठाईको प्रयोगलाई सन्तुलन गर्नुपर्छ।’
तिहारका लागि लक्षित गरेर बजारमा बेच्न राखिएका मिठाईमा अखाद्य पदार्थको मिसावट बढी पाईएकाले उपभोग गर्दा विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्। यस्ता मिठाई खाँदा दीर्घकालीन रोग समेत निम्तन सक्ने भएकोले विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन।
एक त स्वस्थकर मिठाई पनि धेरै खानु हुन्न, त्यसमाथि पनि बजारमा पाइने अस्वस्थकर र अखाद्य रङ मिसाइएका मिठाई खाँदा मानिस रोगी बन्न थालेकोले चिकित्सकहरुले मिठाईको गुणस्तर पहिचान गरेर मात्रै उपभोग गर्न डक्टर शर्माको सुझाव छ। धनगढी बजारमा रहेका अधिकांस मिठाई पसलमा अहिले अखाद्य रंग मिसाईएका मिठाईहरु बिक्री भईरहेका छन्।
तिहारमा मिठाईको अत्यधिक खपत हुने मौका छोपेर व्यापारीहरुले आकर्षण बढाउन अखाद्य रंगको प्रयोग गरिएका मिठाईहरु बिक्री गरिरहेका हुन्। तर तिहारमा मिठाई अनिवार्य भएकोले उपभोक्ताहरु बजारमा जस्तो पायो त्यस्तै मिठाई किन्न बाध्य छन्। तर उपभोक्ताले पनि सचेत हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी कुवंरले बताए।
‘तिहारको समयमा पनि बजार अनुगमनलाई निरन्तरता दिएका छौँ। कुवंरले भने,‘विदा भएपनि केहि साथीहरु आकस्मिक अनुगनका लागि तयार छन्। उपभोक्ताले पनि उजुरी गर्नु पर्छ।’ तिहारको बेलामा खाइने सेलरोटीमा धेरै चिल्लो तथा बजारमा राखिएका मिठाईमा रङ मिसाइने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन्।
धेरै चिल्लो र रङ भएको खानेकुराले ग्यास्ट्रिक, उच्च रक्तचाप, हृदयाघात लगायतका समस्या निम्तने जोखिम धेरै हुने भएकाले मिठाई वा अन्य परिकार बनाउँदा गुणस्तरीय धीउ, तेल प्रयोग गर्न र मिसावट रहित खाद्यपदार्थ प्रयोग गर्न पनि चिकित्सकको सुझाव छ।