धनगढी उप–महानगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने
सुदूरपश्चिम प्रदेशको एकमात्रै धनगढी उप–महानगरपालिकाले आफ्नै प्राविधिक शिक्षालय सञ्चालन गर्ने भएको छ। प्राविधीक शिक्षा संचालन गर्ने स्वीकृती पाएसंगै यसै शैक्षिक सत्रबाट पठनपाठनको तयारी गरिएको उप–महानगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) संँगको साझेदारीमा उपमहानगरपालिकाले चालू शैक्षिक सत्रबाट प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न आवश्यक तयारी गरेको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले बताए। सिटिइभिटीसंँगको साझेदारीमा उपमहानगरपालिकाले सरकारीस्तरको ‘धनगढी पोलिटेिक्नकल इन्स्टिच्युट’ नामक प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो।
‘‘न्यून पढाइ शुल्क लिएर विद्यार्थीलाई इन्स्टिच्युटमा पठनपाठनको व्यवस्था गर्न लागिएको छ,” प्रमुख ओडले भने, “विद्यार्थीले रु एक लाख ९० हजार भित्रमा नै स्नातक तहसम्मको पढाइ पूरा गर्न पाउने छन्।” पहिलो चरणमा स्नातक तहको होटल व्यवस्थापन र अटोमोबाइल इञ्जिनीयरिङको पढाइ शुरु गर्न लागिएको बताइएको छ। होटल व्यवस्थापनतर्फ ४० र अटोमोबाइल इञ्जिनीयरिङतर्फ ४८ कोटा तोकिएको छ। अटोमोबाइल ईञ्जिनीयरिङ पढ्न चाहनेका लागि धनगढी उपमहानगरपालिकाको सबै १९ वडालाई एक-एक जनाको कोटा निर्धारण गरिएको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लागि एक-एक जनाको कोटा निर्धारण गरिएको छ।
खुल्लातर्फ १९ जनाको कोटा तोकिएकोमा एक जनाको कोटा नगरपालिकाको रहेको छ । होटल व्यवस्थापनतर्फको खु्ल्लातर्फ ११ जनाको कोटा निर्धारण गरिएको बताइएको छ। सिटिइभिटी सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख डाक्टर कुसुमाकर भट्टले धनगढी उपमहानगरपालिकाले यस्तो ढाँचामा प्राविधिक शिक्षालय सञ्चालनको तयारी गरेर प्राविधिक जनशक्ति तयार गर्ने काममा योगदान पु¥याउन खोज्नु राम्रो कुरा भएको बताए। स्नातक तहको अटोमोबाइलको पढाइ प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नभएको अवस्थामा यो विषय पढ्ने विद्यार्थीलाई रोजगार बन्नका लागि सहज हुने उनले बताए। रासस