बैतडी डोजर आक्रमण : थप तीन जना पक्राउ
महिलालाई डोजरले लडाएको घटनामा बैतडीमा थप तीन जना विरुद्द ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ९ को ग्वाल्लेकको घटनामा थप तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो।
डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानिदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धान भइरहेको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाडेले जानकारी दिए। आरोप प्रमाणित भएमा कानून अनुसार कारबाही हुने उनले बताए।
डोजर चालक किशोर बोहरालाई मंगलबार अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ। ग्वाल्लेकमा सडक निर्माणका क्रममा कात्तिक ४ गते दुई पक्षबीच झडप भएको थियो। झडपका क्रममा डोजरले लडाउदा स्थानीय गौरी जोशी घाईते भएकी छन्। उनको अहिले कोहलपुरमा उपचार भइरहेको छ। सडक निर्माण पक्षले भने जमीन वाला पक्षले पहिला ढुंगामुढा गरेको आरोप लगाएको छ। दुई पक्षबीच झडप हुँदा गौरीसहित ८ जना घाइते भएका थिए। घटनाको सत्यतथ्य सार्वजनिक गर्नको लागि जिल्ला प्रशासन कार्यालयले छानविन टोली गठन गरेको छ। समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ।