कैलालीको गौरीगंगामा इन्डोर फुटबल मैदानको डीपीआर तयार
कैलालीको गौरीगंगामा ईन्डोर फुटबल मैदानको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ। नगरपालिकाको वडा नम्बर ८ बडैपुरको लिक्मामा तीन हजार दर्शक अटाउने फुटबल मैदान निर्माणका लागि डीपीआर तयार भएको हो। फुटबल मैदान निर्माणका लागि सात करोड ७२ लाख ८२ हजार खर्च लाग्ने छ।
मैदान निर्माणका लागि नगरपालिकाले ३० प्रतिशत र बाँकी संघीय सरकारसंग माग गरिएको मेयर भीमबहादुर देउवाले बताए। ‘मैदान निर्माणका लागि सात करोड ७२ लाख ८२ हजारको लागत लाग्ने देखिएको छ।’ देवाले भने, ‘जम्मा लागतको ३० प्रतिशत नगरपालिकाले व्यहोर्ने र बाँकी संघीय युवा तथा खेलकुद मन्त्रालयसंग माग गरेको छाँ।
संघीय सरकारबाट खेल मैदानका लागि रकम विनियोजन भएको छैन्। विनियोजनको आश्वासन पाएका छौ।’ नगरपालिकाले पाँच लाखको लागतमा परामर्शदाता कम्पनी मार्फत डीपीआर बनाएको हो। साथी ईन्जिनियरीङ कन्सलटेन्सी मार्फत तीन हजार दर्शक अटाउने ईन्डोर खेल मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको नगरपालिकाका सव–ओभरसियर बलबहादुर मन्नीले बताए।
‘बडैपुर फुटबल ग्राउण्ड नाम राखिएको छ।’ उनले भने, ‘तीन हजार दर्शक अटाउने छन्। माईन्डोर हल हुने छ। खानेपानी, शौचालय, स्टीडीएम, पर्खाल सहितको स्तरीय खेल मैदान निर्माणका लागि डीपीआर तयार भएको छ।’
मैदानको स्तर बृद्धिका लागि गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट २५ लाख र गौरीगंगा नगरपालिकाबाट १५ लाख विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र गिरीले बताए। चालु आर्थिक वर्ष २०७६÷०७७ मा पनि नगरपालिकाले ३५ लाख विनियोजन गरेको छ।