धनगढीमा भन्सार छली ल्याईएको मिठाई सहित दुई जना पक्राउ
धनगढीमा भन्सार छली ल्याईएको मिठाई सहित दुई जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालीका वडा नम्बर ८ बाट मिठाई सहित दुई जनालाई पक्राउ गरिएको हो। साईकलमा मिठाई ल्याईरहेको अवस्थामा वडा नम्वर १ बस्ने ३३ बर्षीय हेमन्त नेपालीलाई प्रहरीले सोधपुछ गर्दा भारतबाट भन्सार छली मिठाई ल्याएको खुलेपछि मिठाई बरामद गर्दै उनलाई पक्राउ गरिएको हो।
उक्त मिठाई वडा नम्वर ८ मा डेरा गरी बस्ने रमेश बहादुर धामीले मगाएको खुल्न आएपछि धामीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए। एक सय ७५ पेटी सोनपापडी, ८ पेटी पेडा, ४५ पेटी मिल्ककेक र मिठाई प्याक गर्ने कागज पनि बरामद गरिएको उनले बताए।
सो मिठाईमा उत्पादन मिति र अन्तिम मिति समेत नरहेको हुदा थप कारबाहीको लागी मिठाई र पक्राउ परेका दुई जनालाई भन्सार कार्यालय कैलाली पठाईएको छ।