कैलालीमा प्रहरी हिरासतबाट छुटाईदिने भन्दै रकम असुल्ने चारजना विरुद्ध ठगी मुद्दा
कैलाली प्रहरीको हिरासतबाट छुटाईदिने भन्दै रकम असुल्ने चार जना विरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ। भारतबाट अवैध माछा ल्याउँदै गर्दा पक्राउ परेका व्यक्तिलाई छुटाईदिने भन्दै उनीहरुका आफन्तबाट रकम असुल्ने ४ जना विरुद्ध ठगी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले रकम असुल्ने धनगढी उप–महानगरपालिका वडा नम्वर २ का २९ बर्षीय गुड्डु भनिने सुमित सिंह, सोही ठाउँका २९ बर्षीय सुमन शर्मा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ बस्ने विनोद शर्मा र वडा नम्वर १ बस्ने २१ बर्षीय हरिस कवाडी विरुद्ध ठगी मुद्दा दर्ता गरिएको बताए।
उनले आज जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जानकारी दिए। भारतबाट अवैध रुपमा माछा ल्याउदै गरेको अवस्थामा सोमबार पक्राउ परेका भारतीय नागरिक अकवर आली र मोहमद आलीलाई छुटाईदिने भन्दै एक लाख लिएको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको थियो। दुवैजनालाई छुटाउन रकम दिने भारत लखिमपुर खिरीका ३० बर्षीय हाईदर अली सहितका तीन जना विरुद्ध समेत सार्वजनीक मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
हाईदर अकवरका दाई हुन्। उनीहरुले जिल्ला प्रहरी कार्यालय गएर छुटाउने प्रयास समेत गरेको बुझिएको तर तत्काल नछुटेपछि उनीहरुले रकम फिर्ता गरेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। बस्नेतका अनुसार पक्राउ परेका दुवै जना अवदेखि यस्ता गतिविधि नगर्ने शर्तमा छुटेपछि हरिस कवाडीले आफुले पहल गरी छुटाएको भन्दै उनीहरुको आफन्तबाट एक लाख लिएका थिए।
प्रहरीले छोडेपछि बजारमा डेढ लाख प्रहरी कर्मचारीले नै असुल्दै छोडेको आरोप लागेको थियो। प्रहरीले ५९ हजार नगद र ४१ हजारको चेक समेत बरामद गरेको छ। यस्तै पक्राउ परेका मध्ये धनगढीका २९ बर्षीय गुड्डु भनिने सुमित सिंहको अन्य अपराधिक क्रियाकलापमा समेत संलग्नता रहेको भन्ने कुरा सुन्नमा आएकाले त्यसतर्फ पनि अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।