सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सञ्जय राना सहित चार जनालाई प्रहरी हिरासतमै राख्न अदालतको अनुमती

२०७६ असोज २८, ०६:४४ खबर संवाददाता

धनगढीमा ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेका सञ्जय राना सहित चार  जनालाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न कैलाली जिल्ला अदालतले अनुमती दिएको छ। आज जिल्ला अदालत कैलालीमा पेश गरिएकोमा उनीमध्ये तीन जनालाई अझै २० दिन एक जनालाई ६ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिईएको हो।

यसअघि चार पटक म्याद थप भईसकेकोमा आज पनि अदालतमा उनीहरुलाई पेश गरिएको थियो। भदौ १८ गते धनगढी उप–महानगरपालिका–६ मटियारीका राना सहित सोही ठाउँका कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो।

केही दिन अगाडी सञ्जय रानाकी साली कल्पना दिवाकोटीलाई पनि पक्राउ गरि आज अदालतमा पेश गरिएको थियो। दिवाकोटीलाई भने थप ६ दिन प्रहरी हिरासतमा राख्न अनुमती दिईएको कैलाली जिल्ला अदालतले जनाएको छ। 

उनीहरुलाई प्रहरीले हिरासतमा राखेको ४२ दिन भईसकेको छ। ठगी, सरकारी छाप दस्तखत किर्ते र हातहतियार खरखजनामा बढिमा २५ दिन मात्रै प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान रहेकोमा दशैँ विदाका कारण ४२ दिन सम्म राखिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले उनीहरु विरुद्ध संगठीत अपराधमा पनि मुद्धा दर्ता गरिएकोले म्याद थप भएको बताए। प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार संगठीत अपराधमा मुद्धा दर्ता भए ६० दिन सम्म म्याद थप्न सक्ने प्रावधान रहेको छ।

संगठीत अपराधमा मुद्धा दर्ता नभए प्रहरीले अनुसन्धानको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई आजै बुझाउन पर्ने थियो। प्रहरीले तीन जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात बरामद गरेको थियो।

कमेन्ट लोड गर्नुस