सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा सयौँ पशुबली

२०७६ असोज १९, ०५:३७ खबर संवाददाता

महाष्टमीको अवसरमा आज सुदूरपश्चिमका विभिन्न शक्तिपीठहरुमा पूजाआजा गरिएको छ। बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा रांगा तथा बोकाको बलि सहित पूजा सम्पन्न भएको निङ्गलाशैनी धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिउ। निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको अवसरमा लागको मेलामा तीन सय एक रांगा र तीन सय ५० बोकाको बलि दिइएको छ।

परापूर्वकालदेखि नै बलिदिने चलन रही आएकाले महाष्टमीको अवसरमा सो मन्दिरमा रांगा तथा बोकाको बलि चढाउने गरिएको बोहराले बताए। दर्शनार्थीहरुले भाकल गरे अनुसार रांगा तथा बोकाको बलि चढाउने परम्परा रही आएको उनले बताए। यस्तै त्रिपुरासुन्दरी भगवती मन्दिर, पुर्चौंडीस्थित डिलाशैनी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित फाल्ङासैनी भगवती मन्दिर लगायतका शक्तिपीठहरुमा बलि सहित पूजाआजा गरिएको छ।

महाष्टमीका अवसरमा जिल्लाका अन्य मठमन्दिरहरुमा पनि पूजाआजा सहित बलि दिने परम्परा रही आएको छ। यस्तै बैतडीको पाटनस्थित उदयदेव मन्दिर र शिवनाथको कफाडीमा रहेको उदयदेव मन्दिरमा आजदेखि जात्रा सुरु भएको छ। ती मन्दिरहरुमा भोली महानवमीका दिन बोका तथा रांगाको बलि दिने चलन रही आएको छ।

महाष्टमीका दिन मन्दिरमा रांगा लग्ने र महानवमीका दिन रांगा काट्ने चलन रही आएको छ। यस्तै डडेल्धुराको उग्रतारा मन्दिरमा पनि रागाको बली दिईएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस