सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा छाडा पशुचौपाय व्यवस्थित गर्न नीजि क्षेत्रबाट गौशाला सञ्चालन

२०७६ असोज १८, ०४:४० खबर संवाददाता

धनगढी उपमहानगरपालिका वडा नम्वर ३ मा निर्माण गरिएको गौशाला उद्घघाटन गरिएको छ। धनगढीमा छाडा पशुचौपाय समस्या न्यूनीकरण गर्ने प्रयासस्वरुप निजी क्षेत्रबाट निर्माण थालिएको गौशाला उद्घघाटन गरिएको हो। गौशालाको धनगढी–३ का वडाध्यक्ष बलबहादुर ऐरले उद्वघाटन गरेका हुन्।

२०७५ वैशाख १ देखि निर्माण थालिएको गौशालामा एक सय ८ गाई अटाउने क्षमता रहेको व्यवस्थापन समितिका सचिव सिताराम अवस्थीले बताए। हाल एउटा मात्रै गौशाला घर निर्माण गरी एक सय ८ गाइ राखिएको उनले बताए। ४ जना गाई हेरालुको व्यवस्थापन पनि गरिएको छ।

भविश्यमा भने थप दुईवटा गौशाला घर निर्माण गरी तीन सय २४ गाईको व्यवस्थापन गर्ने योजना रहेको उनले बताए।  ‘बजारमा जताततै गाई मात्रै देख्दा हामीले थोरै भएपनि संरक्षणमा लाग्नुपर्छ भन्ने योजना बनाएर अभियान थालेका हौं,’ उनले भने, ‘यसमा कसैको निजी स्वार्थ भने छैन।’

गौशाला निर्माणका लागि २५ लाख संकलन भएको अध्यक्ष भोजराज पाठकले बताए। सुरुमा समितिकै पदाधिकारी बाट ११ सय सङ्कलन गरी थालिएको अभियानमा तीन सय ६० जना आजीवन सदस्य थपिएका उनले बताए। यसैगरी ३३ जनाले ५१/५१ हजार आर्थिक सहयोग गर्नुका साथै ५३ जनाले ११/११ हजार नगद सहयोग गरेको अध्यक्ष पाठकले बताए।

गौशाला निर्माणमा प्रदेश संसद विकाश कोषमार्फत प्रदेशसभा सदस्य डिल्लीराज पन्तले ८ लाख, सुदूरपश्चिम प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत ५ लाख र धनगढी उपमहानगरपालिकाको तर्फबाट ५ लाख आर्थिक सहयोग भएको उनले बताए।

गौशालालाई व्यवस्थित गर्न र दिगो बनाउन गाईको दूध, मुत्र र गोबरको व्यापार गरिने बताईएको छ। गोबरबाट धुप उत्पादनका लागि पनि विभिन्न निकायसँग प्राविधिक सल्लाह भइरहेको अध्यक्ष पाठकले बताए। 
 

कमेन्ट लोड गर्नुस