धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा, यसरी गरिनेछ व्यवस्थापन
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ। धनगढी उपमहानगरपालिका–२ मा स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको फोहोर व्यवस्थापन केन्द्र शुक्रबार उद्धाटन गरिएको हो। उपमहानगरपालिकाका मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना लगायतको उपस्थितिमा वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझाले फोहोर व्यवस्थापन केन्द्रको उद्धाटन गरे। स्वास्थ्य संस्थाबाट उत्पादन हुने जोखिमयुक्त फोहोरलाई वैज्ञानिक विधिबाट निःसंक्रमण तथा व्यवस्थापन गर्नका लागि केन्द्र सञ्चालनमा ल्याइएको हो।
स्वास्थ्य संस्थाबाट संकलन गरिएका जोखिमयुक्त फोहोर केन्द्रमा ल्याएर अटो–क्लेभ र न्युस्टर मेसिनमार्फत व्यवस्थापन गरिने जनाइएको छ। उद्घाटन कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख हमालले कुनै पनि उपमहानगरपालिकाको पहिलो दायित्व फोहोर व्यवस्थापन गर्नु रहेको बताए। उनले धनगढी उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई गौरवको योजनाका रूपमा अघि बढाएको उल्लेख गर्दै बढ्दो जनसंख्याका कारण भविष्यमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने भएकाले अहिलेबाटै यसमा ध्यान दिनुपर्ने बताए।
उनका अनुसार धनगढी उपमहानगरपालिकाको फोहोर वर्गीकरण केन्द्र पटेलामा २२ हेक्टर जमिनमा निर्माण गर्ने योजना छ। जग्गा प्राप्तिमा समय लागेकोले तत्कालका लागि हालको स्थान १५ वर्षका लागि भाडामा लिएर सञ्चालनमा ल्याइएको उनले बताए। फोहोर व्यवस्थापन जनताको सहयोगबिना सम्भव नहुने भन्दै उनले फोहोर न्यूनीकरण, पुनः प्रयोग र पुनर्चक्रणका तीन सिद्धान्त अपनाउनुपर्नेमा जोड दिए।
धनगढी उपमहानगरपालिकामा हाल १७१ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्। तीमध्ये २१ वटा उपमहानगरपालिकाको मातहतमा रहेका छन्। यी स्वास्थ्य संस्थाबाट दैनिक विभिन्न प्रकारका स्वास्थ्यजन्य फोहोर उत्पादन हुने गरेको छ। यसअघि सामान्य फोहोर व्यवस्थापन हुँदै आए पनि स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोरको व्यवस्थापन चुनौतीपूर्ण रहँदै आएको थियो। केन्द्र सञ्चालनमा आएपछि त्यस्ता फोहोरको व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।
धनगढी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख अशोक अवस्थीका अनुसार स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र निर्माणमा उपमहानगरपालिकाको ५६ लाख रुपैयाँ खर्च भएको छ। केन्द्रमा अटो–क्लेभ र न्युस्टर मेसिन राखिएका छन्। सबै मेसिनको लागत करिब एक करोड रुपैयाँ रहेको उनले जानकारी दिए। स्वास्थ्यजन्य फोहोर संकलनका लागि उपमहानगरपालिकाले छुट्टै गाडीसमेत व्यवस्था गरेको छ। गाडी खरिद तथा मोडिफिकेसनमा करिब ३० लाख रुपैयाँ खर्च भएको अवस्थीले बताए।
नेपाल सरकारको मापदण्डअनुसार अस्पतालजन्य फोहोरलाई पाँच प्रकारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। त्यसका लागि हरियो, निलो, रातो, पहेँलो र कालो रङका छुट्टाछुट्टै बकेट प्रयोग गरिन्छ। कुन रङको बकेटमा कस्तो फोहोर राख्ने भन्ने विषयमा सरकारले निर्देशिका जारी गरेको छ।
सोही व्यवस्थाअनुसार धनगढी उपमहानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा १६ वटा छुट्टाछुट्टै ड्रम राखिएका छन्। यसबाट विभिन्न प्रकृतिका फोहोरलाई मिसिन नदिई छुट्टाछुट्टै संकलन तथा व्यवस्थापन गर्न सहयोग पुग्नेछ।
अवस्थीका अनुसार ट्रिट नगरी निर्मलीकरण गर्नुपर्ने फोहोरका लागि स्वास्थ्य संस्थाबाट प्रतिकिलो ६० रुपैयाँ र ट्रिट गरिएको फोहोरका लागि प्रतिकिलो ३५ रुपैयाँ शुल्क लिइनेछ। अटो–क्लेभ मेसिनले पुनर्चक्रण गर्न मिल्ने जोखिमयुक्त फोहोरलाई १२१ डिग्री सेल्सियस तापक्रममा हावा तथा पानीको बाफको प्रेसर प्रयोग गरी निःसंक्रमण गर्छ।
यस मेसिनबाट मुख्यगरी गज, पट्टी र सिरिन्जका निडलजस्ता जोखिमयुक्त फोहोरको निर्मलीकरण गरिन्छ। निःसंक्रमणपछि पुनः प्रयोग वा पुनर्चक्रण गर्न मिल्ने सामग्रीलाई छुट्याइन्छ भने काम नलाग्ने सामग्रीलाई डम्पिङ साइटमा व्यवस्थापन गरिन्छ। त्यस्तै, न्युस्टर मेसिनले पुनर्चक्रण गर्न नमिल्ने फोहोरलाई उच्च तापक्रममा प्रशोधन गरी व्यवस्थापनयोग्य बनाउँछ। भायल, फुटेका सिसा, काटिएका प्लास्टर, बोतल, युरिन पाइप तथा रगत चढाउने पाइपजस्ता फोहोरलाई यस मेसिनमा १५० डिग्री सेल्सियस तापक्रममा प्रशोधन गरी पाउडरको रूपमा परिवर्तन गरिने जनाइएको छ।
यसरी प्रशोधन गरिएका फोहोरलाई सुरक्षित रूपमा विसर्जन गर्न सकिने जनाइएको छ। नगरप्रमुख हमालले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनसँगै समग्र नगरको सरसफाइमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताए। उनले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई विद्यार्थीलाई सानै उमेरदेखि फोहोर वर्गीकरण र व्यवस्थापनसम्बन्धी शिक्षा दिन आग्रह गरे। साथै विद्यार्थीहरूलाई स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको स्थलगत अवलोकन गराई व्यवहारिक ज्ञान प्रदान गर्न पनि उनले अनुरोध गरे। सबै नगरवासी एकजुट भएर सहयोग गरे धनगढीलाई नेपालको सबैभन्दा सफा नगरका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो।
केन्द्र सञ्चालनमा आएसँगै धनगढीका स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोरलाई स्रोतबाटै वर्गीकरण गरी वैज्ञानिक विधिबाट व्यवस्थापन गर्ने आधार तयार भएको जनाइएको छ। यसले स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, सेवाग्राही तथा वातावरणमा पर्न सक्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उपमहानगरगले जनाएको छ।