सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपन्न परिवारलाई बेमौसमी तरकारी खेती

फाइल फोटो
फाइल फोटो
२०७६ असोज ८, १२:२० खबर संवाददाता

झापाको दमक नगरपालिकाले विपन्नहरुको आर्थिक अवस्था सुधार्न थालेको कृषि उपार्जन कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन नगरपालिकाले वडा नम्बर ३ मा साढे दुई बिघा जग्गा भाडामा लिएर तरकारी खेतीतर्फ प्रवर्दन गरेको छ। दश वर्षका लागि भाडामा लिएर नगरपालिकाको करीब रु २१ लाखको खर्चमा टनेलमार्फत खेती प्रवद्र्धनमा जोड दिँदै आएको वडाध्यक्ष नवीन बरालले बताए।

आफ्नो नाममा एक धुर पनि जमीन नभएकी पवित्रादेवी चम्लागाईंले नगरपालिकाले उपलब्ध गराएको जग्गामा खेती गर्दा अहिले मनग्य आम्दानी गर्न थालेको बताइन्। उनीजस्तै १७ घरपरिवारलाई नगरपालिकाले गरीबी न्यूनीकरणका लागि कृषि उपार्जन सहयोग गरेको छ।

अर्गानिक बेमौसमी तरकारी बालीमा सहयोग गरेकाले उत्पादित तरकारीले राम्रो बजार र आम्दानी लिने गरेको कृषि समूहका अध्यक्ष भगिरथ अधिकारीले बताए। आर्थिक अवस्था कमजोर भएकाहरुलाई टनेल तथा सोलार सिँचाइ राखेर आफ्नो मेहेनत आफ्नै कमाइ हुने अवस्था सिर्जना गरेकाले त्यस वडास्थित साधुथान बस्तीका विपन्न समुदाय कृषिमा आत्मनिर्भर बन्न थालेका र त्यसले समुदायको आर्थिक सशक्तीकरणमा सघाउ पुग्दै आएको वडाध्यक्ष बरालले भनाइ छ।

उनका अनुसार समूहले अर्गानिक तरकारी उत्पादन थालेको र ती उपभोग्य उत्पादित वस्तु दमकका बजारमै खपतसमेत हुन थालेका छन्। नगरलाई अर्गानिक कृषि उत्पादनमा प्रोत्साहन गर्न पनि यस्ता कृषि प्रवर्दनात्मक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन्।
 

कमेन्ट लोड गर्नुस