सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा धान खरिद अन्योलमा, टोकन पाएका किसानले समेत बेच्न पाएनन् धान

२०८३ मंसिर ८, १२:३८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सरकारी समर्थन मूल्यमा धान खरिद गर्ने प्रक्रिया सुरु नुहँदै स्थगित भएपछि किसान समस्यामा परेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले निर्धारण गरिएको कोटा अपुग हुने भन्दै धान खरिद प्रक्रिया नै स्थगित गरेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, महेन्द्रनगरले यसवर्ष कञ्चनपुरका लागि आठ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको थियो। सोही कोटाअनुसार कम्पनीले तीन सय किसानलाई टोकनसमेत वितरण गरेको थियो। तर, निर्धारित कोटाले किसानको धान खरिद गर्न नपुग्ने भएपछि खरिद प्रक्रिया अघि बढ्न नसकेको हो।

कम्पनीका महेन्द्रनगर शाखा प्रमुख प्रकाश न्यौपानेका अनुसार आठ हजार क्विन्टलको कोटाले किसानको धान खरिद गर्न सम्भव नभएपछि थप २० हजार क्विन्टल धान खरिदका लागि सरकारसँग माग गरिएको छ। थप कोटा स्वीकृत भएपछि मात्रै खरिद प्रक्रिया पुनः सुरु गरिने उनको भनाइ छ।

तर, थप कोटा कहिले स्वीकृत हुन्छ भन्ने निश्चित नहुँदा किसान अन्योलमा छन्। सरकारी समर्थन मूल्यमा धान बिक्री गर्ने आशामा बसेका किसानले उत्पादन घरमै थन्क्याउनुपरेको छ। आफ्नो उत्पादन कहिले बिक्री गर्न पाइने हो भन्ने टुङ्गो नहुँदा किसान चिन्तित बनेका छन्।

कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कात्तिक १९ र २० गते तीन सय किसानलाई धान बिक्रीका लागि कुपन वितरण गरेको थियो। कम्पनीले कात्तिक २७ गतेदेखि धान खरिद सुरु गर्ने सूचनासमेत जारी गरेको थियो। तर, कोटा अपुग भएपछि खरिद प्रक्रिया रोकिँदा कुपन पाएका किसानसमेत धान बिक्री गर्नबाट वञ्चित भएका छन्।

सरकारले किसानको उत्पादन खरिद गर्ने नीति बनाए पनि आवश्यकताअनुसार कोटा निर्धारण र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा किसानले त्यसको लाभ लिन पाएका छैनन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानले उत्पादन गरेको धानको सानो हिस्सा मात्रै खरिद गर्ने र बाँकी व्यापारीलाई बेच्नुपर्ने बाध्यता कञ्चनपुरमा वर्षौंदेखि कायम छ। यसवर्ष भने सरकारी खरिदको आशामा टोकन लिएका किसानसमेत निराश हुनुपरेको छ।

कमेन्ट लोड गर्नुस