सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको समिति गठन

२०८३ मंसिर ५, १२:२३ रासस

काठमाडौँ :विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको तदर्थ समिति गठन गरेको छ ।

काठमाडौँमा आज भएको भेलाले नेपाल टेलिभिजनका शिव पङ्गेनीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

एसोसिएसनको सदस्यमा कान्तिपुर टेलिभिजनका मुरारी घिमिरे, ग्लोबल टेलिभिजनका राजु थापा, न्युज एजेन्सी नेपालका देवानन्द शिल्पकार तथा भिडियो पत्रकारहरु निरनराज वाना, विनोद थापा, सुरेन्द्र श्रेष्ठ, कृष्ण श्रेष्ठ, कुमार मानन्धर, विष्णु पन्थी र कृति पन्त रहेका छन् ।

तदर्थ समितिका संयोजक पङ्गेनीले नेपालभर व्यावसायिक रुपमा काम गर्ने भिडियो पत्रकारलाई सङ्गठित बनाई उनीहरुको पेसागत हकहित, अधिकार र व्यावसायिक सुरक्षाका लागि संस्था गठन गरिएको बताए ।

त्यस अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्तले अहिलेको युग मल्टिमिडियाको भएकाले फोटो तथा भिडियो पत्रकारिताको क्षेत्रमा काम गर्ने सबै एकजुट हुन आवश्यक रहेको बताए ।

उनले भने, “भिडियो पत्रकारितामार्फत विश्वभरका सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्दै समाजलाई सुसूचित गराउँदै अघि बढ्न अनुरोध गर्दछु ।”

कमेन्ट लोड गर्नुस