सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम दुई हारको बदला लिँदै फाइनल पुग्ला कि लुम्बिनीले फेरि रोक्ला ?

२०८३ मंसिर १, ०१:५९ खबर संवाददाता

धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा उपाधि दाबेदार दुई टोली लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच आज पहिलो क्वालिफायरमा प्रतिस्पर्धा हुँदैछ। लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफमा पुगेका साविक विजेता लुम्बिनी र दुबै संस्करणको उपविजेता सुदूरपश्चिमबीचको यो भिडन्त फाइनल प्रवेशका लागि हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल जित्ने टोलीले शनिबार हुने फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीको उपाधि यात्रा भने समाप्त हुनेछैन। उसले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ। लिग चरणको प्रदर्शनमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई पछि पारेको छ। सात खेलबाट पाँच जित, एक हार र एक नतिजाविहीन खेलको नतिजासहित ११ अंक जोडेको लुम्बिनी पहिलो स्थानमा रह्यो। सुदूरपश्चिमले सातमध्ये पाँच खेल जित्दै १० अंकका साथ दोस्रो स्थान हासिल गर्‍यो।

लुम्बिनीले पछिल्ला पाँच खेलमध्ये चारमा जित निकालेको छ भने सुदूरपश्चिमले लगातार चार खेल जित्दै प्लेअफमा स्थान बनाएको हो। लुम्बिनीका लागि आजको खेलमा आत्मविश्वास बढाउने अर्को आधार सुदूरपश्चिमविरुद्धको पछिल्लो नतिजा हो। यसै संस्करणको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो।

गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई चार विकेटले हराउँदै उपाधि जितेको थियो। यसरी पछिल्ला दुई भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको छ। आजको खेल जितेमा उसले सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्नेछ। तर, सुदूरपश्चिमका लागि यो बदला लिने अवसरसमेत हो। अघिल्लो फाइनलको हार र यस संस्करणको उद्घाटन खेलमा बेहोरेको पराजयको जवाफ दिँदै फाइनल पुग्ने लक्ष्यमा टोली हुनेछ।

लुम्बिनीको ब्याटिङमा अस्ट्रेलियाका डार्सी सर्ट मुख्य आधार हुन्। त्यस्तै आसिफ शेख, निरोशन डिकवेला र कप्तान रोहित पौडेलको प्रदर्शन पनि निर्णायक बन्न सक्छ। मध्यक्रममा सन्दीप जोराले टोलीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। बलिङमा रुबेन ट्रम्पलम्यान, शेर मल्ल र किशोर महतो लुम्बिनीका प्रमुख हतियार हुन्। 

सुदूरपश्चिमको सबैभन्दा ठूलो भरोसा कप्तान दीपेन्द्रसिंह ऐरी हुन्। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा योगदान दिन सक्ने दीपेन्द्रले लिग चरणमा १५० रन बनाउनुका साथै पाँच विकेट पनि लिएका छन्। बलिङमा अनिल खरेल, हेमन्त धामी र स्कट कुगेलाइन सुदूरपश्चिमका मुख्य खेलाडी हुन्। अनिलले लिग चरणमा १० विकेट लिएका छन् भने कुगेलाइनले नौ विकेट हात पारेका छन्। त्यस्तै थारिन्दु रत्नायके र फाबियन एलेनको अलराउन्ड प्रदर्शनले पनि टोलीलाई सन्तुलन दिन सक्छ।

कमेन्ट लोड गर्नुस