धनगढी आउँदै देउवा, प्रदेश अधिवेशन उद्घाटन गर्ने
धनगढीः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सुदूरपश्चिम धनगढी आउने भएका छन्। मंसिर १५ गतेदेखि सुरु हुने प्रदेश अधिवेशन उद्घाटनका लागि देउवा धनगढी आउने भएका हुन्।
नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले अधिवेशन उद्घाटनका लागि देउवा आउने निश्चित भएको जानकारी दिए। मंसिर १५ गते बिहान ११ बजे अधिवेशनको उद्घाटन कार्यक्रम हुनेछ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा पक्षले सुदूरपश्चिममा प्रदेश अधिवेशन गर्न लागेको हो। प्रदेशका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। केही जिल्लामा अधिवेशन हुन बाँकी रहे पनि अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भएको प्रदेश कार्यसमितिले जनाएको छ।