सुदूर नेपाललाई विश्वसँग जोड्दै

२० वर्षदेखि संस्कृतिको संरक्षणमा मुनुवा युवा क्लब, पटेवा नाचले बढायो आकर्षण 

२०८३ कार्तिक २८, ०४:५८ खबर संवाददाता

धनगढीः कठरिया समुदायको भाषा, कला, संस्कृति र मौलिक पहिचान संरक्षण गर्ने अभियानलाई निरन्तरता दिँदै कैलालीको मुनुवा युवा क्लबले आफ्नो २०औँ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। दीपावलीको अवसरमा कात्तिक २६ गते जानकी गाउँपालिका–४, मुनुवामा आयोजित कार्यक्रम कैलाली जिल्लाकै पहिलो कठरिया संस्कृति महोत्सव रहेको बताइएको छ। महोत्सवको उद्घाटन कठरिया समुदायको ऐतिहासिक तथा मौलिक ‘पटेवा नाच’बाट गरिएको थियो।

कार्यक्रममा युवातर्फ अमन कठरिया र युवा नेतृतर्फ अलिजा रावतलाई विशेष सम्मान गरिएको थियो। उनीहरूलाई खादा, माला तथा सम्मानपत्र प्रदान गरिएको क्लबले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी रहेका थिए। विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष लालमती देवी कठरिया, वडा नम्बर ४ का अध्यक्ष दिपेन्द्रकुमार कठरियालगायत जनप्रतिनिधि, बड्घर, भल्मन्सा, कलाकार र स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रमका मुख्य प्रायोजक मनिष मेडिकल हल एण्ड ममटा हेल्थ केयरका सञ्चालक मनिष महतो र मुख्य सहयोगी वडा अध्यक्ष दिपेन्द्र कुमार कठरिया रहेका थिए। विभिन्न व्यवसायी तथा व्यक्तिहरूले पनि आर्थिक सहयोग गरेका थिए। २० वर्षदेखि निरन्तर सांस्कृतिक अभियान सञ्चालन गर्दै आएको क्लबले शिक्षा, स्वास्थ्य, सरसफाइ र सामाजिक सेवाका क्षेत्रमा समेत काम गर्दै आएको छ। कार्यक्रमको सभाध्यक्षता क्लबका अध्यक्ष सुरेन्द्रकुमार कठरियाले गरेका थिए भने सञ्चालन निर्मल रावत र कल्पना रावतले गरेका थिए। स्वागत मन्तव्य तृप्ती कठरियाले राखेकी थिइन्। क्लबले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, प्रायोजक, सहयोगी, कलाकार तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि कठरिया समुदायको मौलिक संस्कृति संरक्षण र सामाजिक सेवाका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कमेन्ट लोड गर्नुस