सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेत तयार छन्, छैन मल; गहुँ छर्ने बेला कैलालीका किसानलाई मल जुटाउनै सकस

२०८३ कार्तिक २७, ०५:०१ लक्ष्मण ढुङ्गाल

धनगढीः गहुँ छर्ने सिजन सुरु भइसक्दा पनि कैलालीका किसानले पर्याप्त रासायनिक मल पाउन सकेका छैनन्। खेत खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई यतिबेला डिएपी मल जुटाउनै मुस्किल परेको छ। यसवर्ष मात्रै नभई हरेक खेतीको सिजनमा मल अभाव झेल्दै आएका किसानलाई यसपटक पनि उत्पादन घट्ने चिन्ताले सताएको छ।

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकी सपुत रानाले अहिलेसम्म सहकारीबाट रासायनिक मल पाउन सकेकी छैनन्। मलका लागि पटकपटक सहकारी धाउँदा पनि नपाएपछि उनले भेटेरिनरी तथा एग्रोभेटबाट महँगो मूल्यमा खरिद गर्ने गरेकी छन्। उनलाई प्रत्येक खेतीको सिजनमा करिब चार बोरा रासायनिक मल आवश्यक पर्छ। तर, आवश्यकताअनुसार मल नपाउँदा खेती गर्नै समस्या हुने गरेको उनी बताउँछिन्।

धनगढीकै अर्का किसान बनपाले राना पनि अहिले गहुँ छर्ने तयारीमा खेत खनजोत गर्न व्यस्त छन्। तर, मल अभावले उनको खेतीको तयारी प्रभावित भएको छ। सहकारीमा मल लिन लामो लाइन बस्नुपर्ने, समयमै मल नआउने र आए पनि पर्याप्त नपाइने समस्या रहेको उनको गुनासो छ। गहुँ खेतीका लागि उनलाई तीन बोरा डिएपी र तीन बोरा युरिया आवश्यक पर्छ। आवश्यक मल जुटाउन मुस्किल भएपछि महँगो मूल्यमा भए पनि खरिद गरेर खेती गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।

किसानका अनुसार गहुँ छर्ने समयमा डिएपी र बाली उम्रिएपछि सिँचाइ गर्ने बेला युरिया प्रयोग गर्नुपर्ने हुन्छ। समयमै मल नपाउँदा बालीको वृद्धि र उत्पादनमा प्रत्यक्ष असर पर्ने उनीहरूको चिन्ता छ। सरकारले मल वितरणको जिम्मेवारी दिएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मागअनुसार समयमै आपूर्ति गर्न नसक्दा हरेक खेतीको सिजनमा किसानले सास्ती भोग्नुपरेको छ।

किसानले अहिले मल नपाइरहेका बेला यसवर्ष आपूर्ति पनि पर्याप्त नहुने संकेत देखिएको छ। मलको मागअनुसार कोटा निर्धारण नहुनु, सरकारले बीचमै वितरण रोक्नु र अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुनुले आपूर्ति प्रभावित भएको सम्बन्धित निकायका अधिकारीहरू बताउँछन्।

अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ अनुसार मल वितरण हुँदै आएको छ। तर, सुदूरपश्चिम प्रदेशमा निर्धारण गरिएको कोटा नै मागको तुलनामा न्यून रहेको कृषि सामग्री कम्पनी लिमिटेडको तथ्यांकले देखाउँछ। कम्पनीका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म प्रदेशभर छ हजार ९४३ मेट्रिकटन युरिया, एक हजार ७९३ मेट्रिकटन डिएपी र तीन सय मेट्रिकटन पोटास बिक्री भएको छ।

त्यसमध्ये कैलालीमा मात्रै पाँच हजार ३३५ मेट्रिकटन युरिया, एक हजार ३२० मेट्रिक टन डिएपी र २२८ मेट्रिकटन पोटास बिक्री भएको कम्पनीले जनाएको छ । कृषि उत्पादनका हिसाबले महत्वपूर्ण जिल्ला कैलालीमा मलको माग उच्च भए पनि प्रदेशका लागि डिएपीको कोटा ९ दशमलव ०७ प्रतिशत मात्रै निर्धारण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडका गणेशदत्त जोशी बताउँछन्। मागअनुसार कोटा नहुँदा किसानले पर्याप्त मल पाउन नसकेको उनको भनाइ छ।

यता, साल्ट ट्रेडिङ कर्पोरेसनको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीमा हाल २४० मेट्रिकटन युरिया, ३९८ मेट्रिकटन डिएपी र ९६ मेट्रिकटन पोटास मौज्दात रहेको छ। गतवर्षको बाँकी रहेको मल विभिन्न सहकारी तथा सूचीकृत एग्रोभेटमार्फत वितरणका लागि पठाइसकिएको कार्यालयले जनाएको छ । साल्ट ट्रेडिङबाट भने मंसिर १ गतेदेखि मल वितरण सुरु हुने प्रादेशिक प्रमुख तेजबहादुर कुँवरले जानकारी दिए।

कुँवरका अनुसार अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अत्यधिक बढेकाले नयाँ मल आयात गर्न कठिनाइ भइरहेको छ। सरकारले बीचमा मल वितरणमा समेत रोक लगाएकाले आपूर्तिमा असर परेको हो। नयाँ मलको आयात र वितरण सहज नभए आगामी दिनमा किसानले थप अभाव झेल्नुपर्ने देखिन्छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस