सुदूरपश्चिम मासु र अण्डामा परनिर्भर
सुदूरपश्चिम प्रदेश मासु र अण्डामा परनिर्भर रहेको छ। मासुको उत्पादन विगतको तुलनामा बढ्दै गएपनि परनिर्भरता भने घट्न नसकेको हो। कुखुराको मासुमा प्रदेश आत्मनिर्भर नजिक भएपनि बाख्रा तथा खसीको मासुमा भने प्रदेश अझै आत्मनिर्भर नभएको हो।
‘एक व्याक्तीलाई वर्षिक १४ किलो मासु आवश्यक पर्ने गरेकोमा प्रदेशमा प्रतिव्यक्ति सरदर ११ किलो मासु मात्रै आपुर्ती भईरहेको छ,’ पशु सेवा निर्देशनालय सुदूरपश्चिमका प्रमुख मदनसिँह धामीले भने, ‘प्रदेशलाई अवको तीन बर्ष भित्र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ तर अण्डामा आत्मनिर्भर बनाउन भने निकै मुस्किल छ।’
उनका अनुसार सुदूरपश्चिम प्रदेशमा अहिले बार्षिक २९ हजार एक सय ७७ मेट्रिकटन मात्रै मासु उत्पादन हुँदै आएको छ। ‘प्रतिव्यक्ति तीन किलो मासु अभाव देखिएको छ, मासुमा प्रदेशलाई आत्मनिर्भर बनाउन अझै साढे ८ हजार मेट्रिकटन मासुको उत्पादन बढाउन पर्ने देखिएको छ।’ उनले भने।
मासुको उत्पादन बढेपनि यस क्षेत्रबाट अन्य प्रदेश निकासा पनि हुने भएकाले प्रदेशमा भने माग अनुसार आपुर्ती हुन नसकेको हो। तर मासुको आयातको बारेमा भने भन्सार कार्यालय अनभिज्ञ छ।
अण्डामा आत्मनिर्भर हुन भने प्रदेशलाई मुस्किल पर्ने देखिएको छ। अहिले सुदूरपश्चिममा ४२ हजार दुई सय ४७ गोटा मात्रै उत्पादन हुने गरेकोमा आत्मनिर्भर हुन त्यस्को दोब्बर उत्पादन बढ्नपर्ने देखिएको छ भने मासुमा आत्मनिर्भर बनाउन भने प्रदेश सरकारले पनि बाख्रा पालनमा अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुराको मासुमा प्रत्येक वर्ष बृद्धि हुदै गएको छ। नौ लाख खसी, बोका तथा बाख्रा, एक लाख भेडा, ५ लाख रागा तथा भैँसीहरु प्रदेशमा पालन हुँदै आएको छ। प्रदेश सरकारले बोईलक कुखुराको फर्म सुधार, बाख्रा पालन तथा भेडा पालक किसानको पनि बृद्धि भएकाले तीन वर्षमा प्रदेश मासुमा आन्त निर्भर हुने दावी गरेको छ।