सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजारक्षेत्रमा हुने मेला–महोत्सवका कारण भैरहवाको जनजीवन प्रभावित

२०८३ असोज २९, ०३:२७ रासस

भैरहवा :आसन्न चाडपर्वसँगै सडकचोक आसपासमा हुने मेला तथा महोत्सवका कारण भैरहवाको मुख्य बजार क्षेत्रको जनजीवन अस्तव्यस्त भई आमसर्वसाधारणले दुःख व्यहोर्नुपरेको छ ।

भैरहवामा स्थायी एवं व्यवस्थित महोत्सवस्थलको अभावमा सडक छेउछाउमा आयोजना हुने महोत्सव तथा मेलाका कारण सडक आवागमन अवरुद्ध भई स्थानीय बासिन्दासहित आमसर्वसाधारणले सास्ती व्यहोर्नुपरेको नगरवासीको भनाइ छ ।  
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद शर्माले स्थानीय सिद्धार्थ रङ्गशालामा क्रिकेट मैदान निर्माण भएपछि स्थान अभावका कारण अन्यत्र कार्यक्रम आयोजना गर्न बाध्य हुनुपरेको जानकारी दिँदै यसबाट स्वभाविक रुपमा भैरहवाको मुख्य बजार क्षेत्र प्रभावित हुनपुगेको बताए । उनले सरोकार भएका स्थानीयवासी, उद्योगी–व्यावसायी तथा सुरक्षाकर्मीबीच समन्वय गरी मेला तथा महोत्सवका कारण सिर्जित समस्याको पहिचानसहित समाधानको उपाय खोज्न सकिने भएको धारणा व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले रुपन्देहीको बुटवलमा प्रदर्शनीस्थल भए पनि भैरहवामा नभएको बताउँदै  स्थायी संरचना निर्माण प्रक्रिया अघि बढे त्यसमा साथ दिन निजी क्षेत्र तयार रहेको बताए ।  
यसैगरी, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्न महोत्सव तथा मेला आवश्यक भएको उल्लेख गर्दै औद्योगिक नगरी भैरहवामा स्थायी प्रदर्शनीकक्ष निर्माणका लागि सरकारको ध्यानाकर्षण गरे । 

यसअघिजस्तै  नेपाल उद्योग वाणिज्य महासङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घसहित विभिन्न व्यापारिक तथा औद्योगिक प्रतिष्ठान तथा कलाकर्मीको मुख्य बजार क्षेत्रमा मेला तथा महोत्सव आयोजना गर्ने तयारी भइरहेको अवस्थामा स्थानीयवासीको तर्फबाट मुख्य बजार क्षेत्रभन्दा बाहिर कार्यक्रम आयोजना गरी शान्त र सुव्यवस्थित भैरहवाको पक्षमा साथ दिन सम्बद्ध पक्षसँग अनुरोध गरिएको छ ।   
 

कमेन्ट लोड गर्नुस