सिँचाइ अभावले डडेल्धुरामा हिउँदे खेती प्रभावित, हजारौँ हेक्टर जमिन बाँझै
डडेल्धुरा। सिँचाइ सुविधाको अभाव र प्रतिकूल मौसमका कारण डडेल्धुरामा हिउँदे खेती विस्तार हुन सकेको छैन। बर्खायाममा खेतीपाती गर्ने किसानले हिउँद लागेसँगै अधिकांश जमिन बाँझै छाड्ने गरेका छन्। पर्याप्त पानी नहुनु, चिसो मौसम र शीतका कारण बालीमा क्षति पुग्ने जोखिमले किसान हिउँदे खेतीप्रति आकर्षित हुन नसकेका हुन्।
कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लामा १९ हजार २६८ हेक्टर खेतीयोग्य जमिन रहेकामा १० हजार १९२ हेक्टरमा मात्रै खेती भइरहेको छ। त्यस्तै, खेती भइरहेको क्षेत्रफलमध्ये छ हजार ८९९ हेक्टरमा सिँचाइ सुविधा पुगेको छैन भने तीन हजार २९३ हेक्टरमा मात्रै सुविधा उपलब्ध रहेको केन्द्रका सूचना अधिकारी रामसिंह बोहराले जानकारी दिए। खेती भइरहेको जमिनको करिब ६८ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा नहुँदा हिउँदे बाली लगाउन समस्या भइरहेको उनको भनाइ छ।
आलिताल गाउँपालिकाका किसान जोगराज भट्ट बर्खायाममा विभिन्न बाली तथा तरकारी खेती गर्ने गरे पनि हिउँदमा भने खेतबारी बाँझै राख्न बाध्य छन्। सिँचाइको व्यवस्था नहुँदा चिसोका कारण लगाएको बाली पनि नष्ट हुने जोखिम रहेकाले हिउँदमा खेती नगर्ने उनले बताए। “हिउँदमा सागसब्जी राम्रोसँग सप्रिँदैनन् । शीतले बोटबिरुवा मर्ने समस्या हुन्छ । सिँचाइको सुविधा पनि छैन । लगाएको बालीबाट उत्पादन हुने सुनिश्चितता नहुँदा जमिन बाँझै छाड्ने गरेको छु”, उनले भने।
कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुका अनुसार जिल्लाका पहाडी क्षेत्रमा हिउँदे खेती गर्ने चलन कम छ। पर्याप्त सिँचाइ नहुनाका साथै चिसो मौसममा बालीको संरक्षण गर्न कठिन हुने भएकाले किसानले हिउँदे खेतीलाई प्राथमिकता दिन नसकेका उनले बताए।
हिउँदमा बाँझो रहने जमिनको छुट्टै यकिन तथ्याङ्क नभए पनि जिल्लाका अधिकांश क्षेत्रमा खेतीयोग्य जमिन पूर्ण रूपमा उपयोग हुन नसकेका प्रमुख पनेरुको भनाइ छ । उनका अनुसार हिउँदे खेती विस्तार गर्न सिँचाइ सुविधा बढाउनाका साथै स्थानीय हावापानी र भूगोल सुहाउँदो बाली छनोट गर्न आवश्यक छ । शीत तथा विभिन्न रोगबाट बाली जोगाउने प्रविधिको प्रयोग गर्न सके किसानलाई हिउँदे खेतीतर्फ आकर्षित गर्न सकिने उनले बताए।
खेतीयोग्य जमिनको ठूलो हिस्सा प्रयोगविहीन रहँदा कृषि उत्पादन र किसानको आम्दानी बढाउने सम्भावना उपयोग हुन सकेको छैन। सिँचाइ आयोजना विस्तार, बर्सातको पानी सङ्कलन तथा संरक्षण र मौसम अनुकूल बाली खेतीलाई प्राथमिकता दिन सके हिउँदमा बाँझो रहने जमिनलाई उत्पादनसँग जोड्न सकिने किसान बताउँछन्। रासस