गोदावरी पुलमुनि २७ वर्षीय पुरुष मृत फेला
धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी पुलमुनि एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा गोदावरीका २७ वर्षीय शेरबहादुर रानामगर रहेका छन्।
प्रहरीका अनुसार आइतबार बिहान भीमदत्त राजमार्गअन्तर्गत पहाड–तराई जोड्ने पक्की पुलको दाहिनेतर्फ करिब ५० मिटर तल उनको शव फेला परेको हो।
खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक दिनेश बोहराको कमान्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले रानामगरलाई उत्तानो अवस्थामा मृत फेला पारेको जनाएको छ।
प्रहरीको प्रारम्भिक टिपोटअनुसार उनी प्रायः मादक पदार्थ सेवन गरी हिँड्ने र मानसिक सन्तुलनसमेत ठीक नभएको जस्तो देखिने गरेको बुझिएको छ। यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको छ। टोलीमा अपराध अनुसन्धानसम्बन्धी प्राविधिक समूह ९सोको० समेत रहेको प्रहरीले जनाएको छ।
मृत्युको कारण र घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।