वर्षभरि भारतमा पसिना बगाएका नेपालीलाई स्वदेश फर्किनै सकस, त्रिनगर नाकामा घण्टौँको प्रतीक्षा
धनगढीः भारतका विभिन्न सहरबाट तिहार मनाउन घर फर्किरहेका नेपालीले कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। सीमा नाकामा चेकजाँचका नाममा घण्टौँसम्म रोक्ने गरिएको र पैसा दिने यात्रुलाई भने छिटो आवागमन गर्न दिने गरिएको उनीहरूको आरोप छ।
भारतको मुम्बैबाट घर फर्किरहेका धनगढीका कालु बिक शुक्रबार बिहानै त्रिनगर नाका पुगे। तर, दिउँसो २ बजेसम्म पनि उनले नाका पार गर्न सकेका थिएनन्। चेकजाँचका नाममा यात्रुलाई अनावश्यक दुःख दिने गरिएको उनको गुनासो छ। ‘नाकामा दुई सय रुपैयाँ दियो भने तुरुन्तै काम भइरहेको छ,’ उनले भने, ‘पैसा नदिनेलाई भने घण्टौँसम्म पनि चेकजाँचका नाममा झुलाउने काम भइरहेको छ।’
बिकले स्वदेश फर्किने क्रममा भारतमा समेत सास्ती भोग्नुपरेको सुनाए। मथुरामा नेपालीहरूबाटै ठगीमा परेको उनको भनाइ छ। नाकासम्म पुर्याइदिने भन्दै नेपाली नागरिकको समूहले आफूहरूलाई लुटपाट गरेको उनले बताए। उनका अनुसार दुई जना नेपाली र केही भारतीय नागरिकको समूहले उनीहरूलाई सरकारी बसमा यात्रा गर्न नदिई कुटपिट गर्ने धम्की दिएको थियो। त्यसपछि बाध्य भएर निजी बसमा यात्रा गर्नुपरेको उनले सुनाए।
टीकापुरकी शान्ता विश्वकर्माले पनि पुणेबाट घर फर्किने क्रममा त्रिनगर नाकामा सास्ती भोग्नुपरेको बताइन्। चेकजाँचका नाममा घण्टौँसम्म नाका पार गर्न नदिँदा लामो यात्रापछि थप कठिनाइ भएको उनको गुनासो छ। ‘चेकजाँच गर्नु ठीकै हो। यसले नेपाली नागरिकको सुरक्षामा मद्दत पुर्याउँछ। तर, अलि छिटो भएको भए हामीलाई कम दुःख हुन्थ्यो,’ उनले भनिन्।
तिहार नजिकिएसँगै भारतका विभिन्न सहरमा रोजगारी तथा अन्य कामका लागि पुगेका नेपालीहरू स्वदेश फर्किने क्रम बढेको छ। कैलालीको धनगढीस्थित त्रिनगर–गौरीफन्टा नाकामा घर फर्किने नेपालीको चाप छ। सीमामा खटिएको प्रहरीका अनुसार शुक्रबार एकैदिन चारदेखि पाँच हजारसम्म नेपाली नागरिक यही नाका हुँदै स्वदेश फर्किएका छन्। कतिपय नेपाली दुईदेखि तीन दिनसम्मको कष्टकर यात्रा पूरा गरेर नेपाल आइपुगेका छन्। तर, स्वदेश प्रवेश गरेपछि पनि नाकामा लामो समय रोकिनुपर्दा उनीहरूको यात्रा थप सकसपूर्ण बनेको छ।
विशेषगरी धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लातर्फ जाने यात्रुहरू नाकामा हुने ढिलाइबाट बढी प्रभावित भएका छन्। लामो दूरी पार गरेर घर पुग्ने तयारीमा रहेका यात्रु नाकामै घण्टौँ रोकिनुपर्दा गन्तव्यसम्म पुग्न थप समय र कठिनाइ व्यहोर्न बाध्य छन्।