सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय बाजुराको निरीक्षण
धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय बाजुराको निरीक्षण तथा अनुगमन गरेका छन्।
सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरा पुगेका डीआईजी भट्टराईले कार्यालयका विभिन्न शाखाको अनुगमन गर्नुका साथै सेवा प्रवाह, भौतिक तथा प्रशासनिक व्यवस्थापन, प्रहरी परिचालन, अभिलेख व्यवस्थापन र समग्र कार्यसम्पादनको अवस्थाबारे जानकारी लिएका हुन्।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले जिल्लाको भौगोलिक अवस्था, शान्ति सुरक्षाको वर्तमान अवस्था, प्रहरी दरबन्दी तथा जनशक्ति परिचालन, अपराध नियन्त्रण र सुरक्षा चुनौतीलगायतका विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराएकी थिइन्।
कार्यक्रममा डीआईजी भट्टराईले भौगोलिक विकटता र विभिन्न चुनौतीका बाबजुद नागरिकको जीउधनको सुरक्षा, शान्ति सुव्यवस्था कायम तथा प्रभावकारी प्रहरी सेवा प्रवाहमा जिल्ला प्रहरी कार्यालयले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।
उनले प्रहरी कर्मचारीलाई व्यावसायिकता, अनुशासन, इमानदारिता र जिम्मेवारीबोधका साथ काम गर्न निर्देशन दिँदै प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिए। नागरिकको सुरक्षा र सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै जनविश्वास अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनसमेत उनले निर्देशन दिएका छन्।