डा. केसीले सुरु गरे सत्याग्रह, गेटामा शैक्षिक कार्यक्रम खारेज गर्न माग
धनगढीः चिकित्सा शिक्षा आयोगले न्यूनतम पूर्वाधार र प्राज्ञिक जनशक्तिविनै चिकित्सा शिक्षा सञ्चालन गर्न अनुमति दिएको भन्दै डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन्। उनले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस र नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत खारेज गर्न माग गरेका छन्।
सरकारसँग भएका सहमति कार्यान्वयन, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति तथा निर्णय प्रक्रियामाथि छानबिन र प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने मागसहित केसीले बिहीबार साँझ ५ बजेदेखि इलामस्थित नारायणस्थानमा सत्याग्रह सुरु गरेका हुन्।
केसीले गेटामा आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको भन्दै आपत्ति जनाएका छन्। शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरी आवश्यक जनशक्ति र पूर्वाधार सुनिश्चित गरेपछि मात्रै शैक्षिक कार्यक्रम अघि बढाउनुपर्ने उनको माग छ।
विभिन्न मेडिकल कलेजमा मापदण्डविपरीत गरिएको सिट वृद्धिको निर्णय पनि खारेज गर्नुपर्ने केसीको माग छ। उनले आयोगका उपाध्यक्ष तथा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी उनीहरूको नियुक्ति प्रक्रिया, योग्यता, अनुभव र निर्णयमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
सरकारी तथा सार्वजनिक स्रोत प्रयोग हुने संस्थामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने उनको माग छ। निजी मेडिकल कलेजको व्यावसायिक स्वार्थका लागि छात्रवृत्ति कटौती गर्ने र मापदण्ड पूरा नगरी सिट वृद्धि गर्ने प्रयास रोक्नुपर्ने केसीले बताएका छन्। यसअघि २४औँ सत्याग्रहका क्रममा २०८३ साउन ११ गते सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै केसीले असन्तुष्टि जनाउँदै आएका छन्।