अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, संरक्षणमा जुटे स्थानीय
धनगढीः कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित बसपार्क नजिकै रहेको नवदुर्गा सामुदायिक वनभित्र केही शिलाहरूलाई देवीदेवताको थानका रूपमा पूजा गर्न थालिएपछि उक्त क्षेत्रमा चहलपहल बढेको छ।
दुई सातादेखि उक्त स्थानमा दैवी शक्ति उत्पत्ति भएको भन्दै स्थानीयवासी दर्शन तथा पूजाअर्चनाका लागि पुग्न थालेका छन्। स्थानीय सुरेन्द्र शाहीका अनुसार पछिल्ला केही दिनयता उक्त क्षेत्रमा चहलपहल बढेको छ। मन्दिरका पुजारी, धामी र एकजना माताले उक्त स्थानमा देउथान पत्ता लगाएको दाबी गरेपछि स्थानीयवासीको चासो बढेको उनले बताए।
स्थानीयवासीले उक्त स्थानमा पिल्लर गाडेर तारजाली लगाउँदै घेरबारसमेत गरेका छन्। तर, सामुदायिक वन समितिलाई जानकारी नदिई वन क्षेत्रमा संरचना बनाउन थालिएको भन्दै समितिले असन्तुष्टि जनाएको छ। दुर्गालक्ष्मी सामुदायिक वन समितिकी अध्यक्ष शिवा कडायतले समितिको अनुमति र जानकारीबिनै धामीझाँक्रीले मनोमानी ढंगले गतिविधि गरेको बताइन्। वन क्षेत्रमा यसअघि पनि मूर्तिजस्ता देखिने अन्य शिलाहरू रहेकाले अहिले देखिएको उनले बताइन्।
वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले देवीदेवता उत्पत्ति भएको भन्दै गलत प्रचार गरिएको हुनसक्ने आशंका पनि वन समितिले गरेको छ। देवीदेवताको थान नै भएकोमा त्यसको संरक्षणमा समिति आफैँ पनि जुट्ने अध्यक्ष कडायतले बताइन्।