सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशरथचन्द विश्वविद्यालयमा ब्लड बैंक सञ्चालनको तयारी

२०८३ कार्तिक १०, ०१:२६ खबर संवाददाता

धनगढीः कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आफ्नै ब्लड बैंक (रक्तसञ्चार केन्द्र) सञ्चालन गर्ने तयारी गरेको छ। ब्लड बैंक स्थापनाका लागि विज्ञ टोलीले अध्ययन गरिसकेको छ भने चाँडै सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाइएको हो। 

विश्वविद्यालयले ब्लड बैंक सञ्चालनका लागि तयारी अघि बढाए पनि तत्काल आवश्यक पर्ने उपकरण भने उपलब्ध नभएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयमा अत्याधुनिक उपकरणहरू रहे पनि ती सबै उपकरण तत्काल प्रयोगमा ल्याउन सकिने अवस्था नरहेको विश्वविद्यालयका उपकुलपति डा. सुनिलकुमार जोशीले बताए। विश्वविद्यालयमा उपलब्ध उपकरणको प्राविधिक अवस्था र सञ्चालनयोग्यता मूल्याङ्कन गर्न काठमाडौँबाट रक्तसञ्चार तथा ब्लड बैंक विज्ञ डा. विपिन नेपाललाई आमन्त्रण गरिएको थियो। डा. नेपाल नेतृत्वको टोलीले गरेको निरीक्षणका क्रममा विश्वविद्यालयमा रहेका उपकरण अत्याधुनिक प्रविधिका भए पनि तिनलाई पूर्णरूपमा प्रयोगमा ल्याउन सेवा विस्तार भएको एकदेखि दुई वर्ष लाग्न सक्ने देखिएको हो।

‘ब्लड बैंक सञ्चालनको प्रारम्भिक चरणमै आवश्यक पर्ने रगतको समूह पहिचान (ब्लड ग्रुपिङ) लगायतका आधारभूत उपकरण भने विश्वविद्यालयमा उपलब्ध छैनन्,’ उपकुलपति जोशीले भने, ‘त्यसैले तत्काल सेवा सुरु गर्न आवश्यक सामग्री खरिद गर्नुपर्ने भएको छ।’ विश्वविद्यालय प्रशासनले आवश्यक उपकरण खरिदका लागि बजेट स्वीकृत गराएर प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यथाशीघ्र उपकरण खरिद गरी सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उपकुलपति जोशीले बताए। 

आफ्नै ब्लड बैंक सञ्चालनमा आएपछि बिरामी तथा सेवाग्राहीलाई रगत र रगतजन्य सेवा उपलब्ध गराउन सहज हुने जोशीले बताए। उनका अनुसार विश्वविद्यालयले सामान्य ब्लड बैंक सञ्चालनमा मात्र सीमित नभई रगतका विभिन्न तत्व छुट्याउने आधुनिक प्रयोगशाला स्थापना गर्ने योजना छ। त्यसका साथै एन्टीबडीमा आधारित इम्युन थेरापीसम्मका उच्चस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य विश्वविद्यालयले राखेको छ। ‘विश्वविद्यालयले सामान्य ब्लड बैंक सञ्चालनमा मात्र सीमित नभई रगतका विभिन्न तत्व छुट्याउने आधुनिक प्रयोगशाला स्थापना गर्ने योजना बनाएको छ। साथै, एन्टीबडीमा आधारित इम्युन थेरापीसम्मका उच्चस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य हामीले राखेका छौँ,’ उपकुलपति जोशीले भने।

कमेन्ट लोड गर्नुस