सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस केन्द्रीय सदस्य मल्लको वाग्लेलाई जवाफ– ज्ञान र पदले कसैलाई आलोचनाभन्दा माथि राख्दैन

२०८३ कार्तिक १०, १२:११

धनगढीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य आदर्श मल्लले रास्वपा उपसभापतिसमेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै ज्ञान र पदले कसैलाई पनि आलोचनाभन्दा माथि नराख्ने बताएका छन्।

मल्लले नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वाभिमानको पक्षमा आवाज उठाउनु कुनै अपराध नभएको उल्लेख गर्दै कुनै पनि राष्ट्रको नीतिको आलोचना गर्नु र त्यही राष्ट्रप्रति शत्रुता राख्नु फरक विषय भएको बताएका छन्।

नेपालको इतिहास, कूटनीतिक परम्परा र राष्ट्रिय स्वाभिमानले देशलाई सधैँ आफ्नै राष्ट्रिय हितको पक्षमा उभिन सिकाएको उनको भनाइ छ। नेपाल कुनै देशको विरोधमा नभई आफ्नो सार्वभौमिकता, राष्ट्रिय हित र स्वाभिमानको पक्षमा उभिँदै आएको मल्लले उल्लेख गरेका छन्।

‘हामी कुनै देशविरोधी होइनौँ, न त कुनै मित्रराष्ट्रप्रति वैरभाव राख्छौँ। तर नेपाल र नेपालीको हितमाथि आँच पुर्‍याउने जुनसुकै गतिविधि, नीति वा निर्णयका विरुद्ध हाम्रो आवाज बुलन्द हुनुपर्छ,’ मल्लको भनाइ छ।

उनले विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले समेत नेपालको हितविपरीत कुनै नीति अवलम्बन गरे त्यसको आलोचना हुनु स्वाभाविक भएको बताएका छन्। लोकतन्त्रमा प्रश्न उठाउनु विरोधका लागि विरोध गर्नु नभई राष्ट्रिय हितको पक्षमा उभिनु भएको उनको तर्क छ।

नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै मल्लले मित्रता कायम राख्नु र आफ्नो राष्ट्रिय हितमा अडिग रहनु परस्पर विरोधी विषय नभएको बताएका छन्। ‘स्वर्णिम वाग्लेज्यूले बुझ्नुपर्ने कुरा के हो भने ज्ञान र पदले कसैलाई आलोचनाभन्दा माथि राख्दैन,’ मल्लले भनेका छन्, ‘आफूले बोलेको कुरा नै अन्तिम सत्य हो भन्ने आत्मविश्वासले कूटनीतिक परिपक्वताको स्थान लिन सक्दैन।’

अर्थमन्त्री डा. वाग्लेले भारतको नयॅा दिल्लीमा दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ। वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासंग जोडेर हेर्ने युग समाप्त भएको बताउका थिए। 

कमेन्ट लोड गर्नुस