कास्कीको धम्पुसमा युवक मृत भेटिए, ६ जना पक्राउ
पोखराः कास्कीको धम्पुसमा युवक मृत भेटिएका छन्। माछापुच्छ्रे गाउँपालिका-७ धम्पुस स्थित घिप्लेमा एक युवक मृत भेटिएका हुन्। २२ वर्षीय राजेन्द्र पौडेल घरबाट पूर्वतर्फ रहेको बारीमा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा पौडेलको हत्या भएको हुन सक्ने बताएको छ। प्रहरीले अनुसन्धानका लागि माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक, ३८ वर्षीय ललित पुन र माछापुच्छ्रे गाउँपालिका–५, रिभानका ५७ वर्षीय विष्णुप्रसाद गुरुङलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको कमान्डमा अनुसन्धान टोली र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो।
उनीहरू राति सँगै मदिरा पिएका र मदिरा पिउँदै जाँदा विवाद भएको देखीएको प्रहरीले जानकारी दिएको छ। पछि हात हालाहालको स्थिती आएको देखीएको प्रहरीको भनाई छ। उनीहरू घरतिर गए पनि राति साथीहरू सहित गएर हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ। घटनाको अनुसन्धान भैरहेका कारण प्रहरीले थप विवरण सार्वजनीक गरेको छैन।