सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन वर्ष बित्यो, बनेन लाइफलाइन सडकको बुढीतोला खण्ड

२०८३ कार्तिक १०, ०९:०८ अनुभव भट्ट

धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने महाकाली राजमार्गअन्तर्गत गोदावरी–खानीडाँडा सडकको बुढीतोला खण्ड भासिएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणको काम पूरा हुन सकेको छैन। कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा भासिएको ५७० मिटर सडकमा पहिरो नियन्त्रणको काम सम्पन्न भए पनि कालोपत्रे हुन सकेको छैन। 

२०८० साउन २३ गते अविरल वर्षापछि बुढीतोला क्षेत्रमा पहिरो जाँदा सडक भासिएको थियो। त्यसको करिब एक महिनापछि सामान्य मर्मत गरेर दुईतर्फी यातायात सञ्चालन गरिएको थियो। तर, सडकको पुनर्निर्माणमा भएको ढिलाइले यात्रु तथा स्थानीयले अझै सास्ती खेप्नुपरेको छ। 

सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर पंकजसिंह धामीका अनुसार पटकपटक मर्मत गर्दा पनि सडक टिक्न सक्ने अवस्था नदेखिएपछि सडक विभागको अध्ययन टोलीले उक्त क्षेत्रको अध्ययन गरेको थियो। अध्ययनका क्रममा जमिनमुनि पानीको मुहान फेला परेको थियो। भूमिगत पानीको उचित व्यवस्थापन नगरी सडक निर्माण गर्दा पुनः क्षति हुन सक्ने निष्कर्षपछि पुनर्निर्माणको काम लम्बिएको उनले बताए। 

धामीका अनुसार भासिएको सडकको मर्मत तथा पहिरो नियन्त्रणका लागि सात करोड ३८ लाख ७० हजार रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो। सडक क्षेत्रमा भूमिगत जलस्रोत व्यवस्थापन गर्न पाँचवटा इनार निर्माण गरिएका छन्। जमिनबाट निस्किने पानी इनारमा जम्मा गरी सुरक्षित रूपमा निकास गर्न सबसर्फेस ड्रेनेज निर्माण गरिएको छ। सडकको माथिल्लो भागबाट आउने पानीको निकासका लागि दुई सयवटा पाइप जडान गरिएका छन्। सडक फराकिलो बनाउनुका साथै थप भूस्खलन रोक्न बायो–इन्जिनियरिङ प्रविधिसमेत अपनाइएको छ। 

पहिरो नियन्त्रणको काम सम्पन्न भएपछि गत पुसमा बुढीतोला खण्डसहित गोदावरीको गाइमारेदेखि सहजपुरसम्मको २१ किलोमिटर सडक मर्मतका लागि ठेक्का सम्झौता भएको थियो। तर, निर्माण सामग्रीको मूल्यवृद्धिका कारण काम अपेक्षाअनुसार अघि बढ्न नसकेको इन्जिनियर धामीले बताए। ‘ठेकेदारहरूसँगको प्रक्रिया मिल्यो भने मंसिरसम्म काम सुरु हुन्छ। प्रक्रिया नमिले वैशाख–जेठसम्म कुर्नुपर्ने हुन सक्छ,’ धामीले भने। 

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने यो सडक आवागमनको माध्यम मात्र नभई स्थानीयको दैनिक जीवन, व्यापार, पर्यटन र समग्र विकाससँग जोडिएको महत्त्वपूर्ण पूर्वाधार हो। हरेक वर्ष पहिरोका कारण अवरुद्ध हुने यस राजमार्गको अधिकांश भाग जीर्ण अवस्थामा छ। १३५ किलोमिटर लामो राजमार्गमध्ये ६९ किलोमिटर कैलालीमा तथा ३३–३३ किलोमिटर डोटी र डडेल्धुरामा पर्छ।

२०२९ सालमा ट्र्याक खोलिएको यस राजमार्गमा २०४६ सालदेखि कालोपत्रेको काम सुरु भई २०५२ सालमा सम्पन्न भएको थियो। त्यसयता पर्याप्त स्तरोन्नति र दीर्घकालीन मर्मत हुन नसक्दा राजमार्गका विभिन्न खण्डमा समस्या दोहोरिँदै आएको छ।सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने स्तरीय वैकल्पिक मार्ग नहुँदा महाकाली राजमार्गअन्तर्गतको भीमदत्त खण्डलाई सुदूर पहाडको लाइफलाइनको रुपमा व्याख्या गरिन्छ।

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस