एक होटलमा गोली चल्दा पाँच जनाको मृत्यु, एक पक्राउ
असमः भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।
सोमबार राति करिब ९ बजे लाचित नगरस्थित होटल बिलास इनमा गोली चलेको हो। घटनामा होटल सञ्चालक हेलेना भराली, उनका छोरा देबर्षि कश्यप र नारायण दाससहित पाँच जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनामा दुई महिलासहित होटलका एक कर्मचारी पनि घाइते भएका छन्।
असम प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार गोलीकाण्डमा ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरिएको थियो। प्रहरीले घटनास्थलबाट हतियार बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा होटलको लिजसम्बन्धी विवाद गोलीकाण्डको कारक भएको निष्कर्ष प्रहरीले निकालेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।