सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चोरी गरिरहेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ

२०८३ कार्तिक ८, ०९:४८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एनसेल टावरमा रहेको जेनेरेटरका पार्टपुर्जा चोरी गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित पुरानो खप्तड एफएम रहेको स्थानमा एनसेल टावरको जेनेरेटरका पार्टपुर्जा चोरी गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आइतबार बिहान करिब ३ बजे चोरी गरिरहेको अवस्थामा भारतको खिरी जिल्लाका २६ वर्षीय अम्मर कस्यर र १५ वर्षीय सचिन कुमार पक्राउ परेका हुन्।

प्रहरी चौकी कैलालीगाउँबाट प्रहरी सहायक हवल्दार कृष्ण बोहराको कमान्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस