सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीमा थारु समुदायको सांस्कृतिक पर्व ‘पित्तर असरैना’ सम्पन्न

२०८३ कार्तिक ३, ०८:२३ खबर संवाददाता

धनगढी: कैलालीको कैलारी गाउँपालिकामा थारु समुदायको मौलिक सांस्कृतिक पर्व ‘पित्तर असरैना’ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। थारु समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबार कार्यक्रम आयोजना गरिएको हो।

कैलारी गाउँपालिका–७ छटकपुरस्थित बसन्ता कोरिडोर थारु होमस्टेमा आयोजित कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले गरेका थिए। बसन्ता कोरिडोर थारु होमस्टेका अध्यक्ष मंगलप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक र संविधानसभा सदस्य वीरमान चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

‘हाम्रो पहिचान, हाम्रो संस्कृति : संरक्षण र संवर्द्धन गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा थारु समुदायको मौलिक पहिचानसँग जोडिएको पित्तर असरैनाको सांस्कृतिक महत्त्वबारे चर्चा गरिएको थियो। वक्ताहरूले यस्ता पर्वले पुर्खाको स्मरण गर्नुका साथै परम्परा र संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठकले थारु समुदायका मौलिक पर्व तथा परम्परा हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गरे। उनले मौलिक संस्कृति, भेषभूषा र रीतिरिवाजको उचित संरक्षण तथा प्रयोगले समुदायको पहिचान स्थापित गर्नुका साथै सामाजिक विकासमा समेत योगदान पुर्‍याउने बताए।

त्यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु समुदायको भाषा, भेषभूषा, कला, संस्कार र परम्पराको संरक्षण गर्दै सांस्कृतिक पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायको विशिष्ट सांस्कृतिक परिवेशले अन्य समुदायलाई समेत आकर्षित र प्रेरित गर्ने उनको भनाइ थियो।

थारु समुदायका विभिन्न मौलिक नृत्य तथा सांस्कृतिक गतिविधि अन्य समुदायका मानिसले समेत रुचिपूर्वक अवलोकन गर्ने गरेको उल्लेख गर्दै प्रदेश प्रमुख मियाँले यस्ता सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा जोड दिनुपर्ने बताए।

पित्तर असरैना पर्वले पुर्खाप्रतिको सम्मान, सामुदायिक एकता र सांस्कृतिक निरन्तरताको सन्देश दिने भएकाले यसको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए। यस्ता कार्यक्रमले समुदायबीच आपसी सद्भाव, भाइचारा र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा बसन्ता कोरिडोर थारु होमस्टेका उपाध्यक्ष जालुराम चौधरी, कोषाध्यक्ष रुपादेवी चौधरी, सचिव महावीर चौधरीलगायत होमस्टेका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो। त्यसैगरी धर्मोदय सभाका जितेन्द्रलाल तुलाधर, एसपीए कलेजका धर्मराज भट्ट, राइडर फाउन्डेसनका भरत विक्रम शाह, अम्बिका आचार्यलगायत विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्व, जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

पित्तर असरैनासँगै आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले थारु समुदायको मौलिक सांस्कृतिक परम्पराको निरन्तरता कायम राख्नुका साथै स्थानीयस्तरमा सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस