सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सांसद पाठक भन्छन्– सांसद पदबाटै हटाइदिए हुन्छ

२०८३ असोज ३०, १२:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेका नेकपा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले बजेटमा बेथिति र अनियमितता भएको स्वीकार भइसकेकाले बैठकमा सहभागी नभएको बताएका छन्। पाठकले बजेटमा अनियमितता भएको विषयमा मुख्यमन्त्री खगराज भट्ट र आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले समेत स्वीकार गरिसकेको बताए। 

‘सबैले बजेटमा भएको अनियमितता र बेथिति स्वीकार गरिसकेको अवस्थामा साक्षी किन बन्ने भनेर म बैठकमा सहभागी नभएको हुँ,’ पाठकले भने, ‘मुख्यमन्त्रीले आफ्नै अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा बजेटमाथि छानबिन गर्ने निर्णय गराएका थिए। आर्थिक मामिलामन्त्रीले समेत बजेटमा बदमासी भएको स्वीकार गरिसकेका छन्।’

पाठकले आफूलाई सामाजिक विकास समितिको सभापतिबाट हटाउने एमालेको निर्णय र आफूमाथि अघि बढाइएको कारबाही प्रक्रियाबारे पनि प्रतिक्रिया दिएका छन्। ‘म सामाजिक विकास समितिको सभापति हुँ वा होइन, मलाई पनि थाहा छैन,’ उनले भने, ‘संसदीय दलले कारबाही गरेर निकाल्यो भन्ने सुनिएको छ। सभापति कसरी निकालिन्छ भन्ने पनि थाहा छैन हाम्रा नेतालाई।’

आफूलाई पदबाट हटाउने विषयमा पार्टी नेतृत्वलाई विभिन्न विकल्पसमेत सुझाएको बताए । पाठकले भने, ‘पार्टीको केन्द्रले सांसद पदबाटै हटाइदिए टन्टै साफ हुन्छ। होइन भने मलाई मन्त्री बनाइदिए पनि सभापति पद जान्छ। नभए समितिका सदस्यहरूले बहुमतबाट हटाउन सक्छन्।’

बजेट पारित गर्ने प्रदेशसभा बैठक बहिष्कार गरेपछि एमालेले पाठकलाई सामाजिक विकास समितिको सभापतिबाट हटाउने निर्णय गर्दै सभामुखलाई पत्र पठाएको थियो। 

कमेन्ट लोड गर्नुस