दसैं मान्न स्वदेश फर्किनेको लर्को, गौरीफन्टा नाकामा रोकिएन पैसा असुली
धनगढीः दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीमाथि कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भारतीय कर्मचारीले पैसा असुल्ने गरेको गुनासो रोकिएको छैन। चाडपर्व मनाउन लामो यात्रा गरेर स्वदेश फर्किरहेका नेपालीले सीमा पार गर्ने क्रममा सामान जाँचका नाममा पैसा बुझाउनुपरेको बताएका छन्।
भारतका विभिन्न सहरबाट रोजगारी गरेर घर फर्किने नेपालीले नाकामा खटिएका भारतीय भन्सार तथा सुरक्षा कर्मचारीबाट अनावश्यक हैरानी खेप्नुपरेको गुनासो गरेका हुन्। उनीहरूका अनुसार सामानको प्रकृति हेरेर रकम माग्ने गरिएको छ। रकम नदिए सीमा पार गर्न कठिन हुने अवस्था रहेको उनीहरूको भनाइ छ।
भारतको बेङ्गलुरुबाट डोटीस्थित घर फर्किरहेका प्रकाश विकले नाकामा सामान जाँच गरेपछि पैसा माग्ने समस्या रहेको बताए। नेपालीबाट सयदेखि दुई सय भारतीय रुपैयाँसम्म माग्ने गरिएको उनको गुनासो छ। ‘प्रत्येक नेपालीबाट सय–दुई सयका दरले भारतीय सीमा कर्मचारीले पैसा मागिरहेका छन्,’ विकले भने, ‘सामान हेरेर पैसा बुझाउनुपर्ने समस्या छ।’ दसैँ मनाउन घर फर्किने क्रममा सीमामै पैसा बुझाउनुपर्दा आफूहरू मर्कामा परेको उनले बताए। रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली चाडपर्वमा घर फर्किने क्रममा अनावश्यक झन्झट र आर्थिक भार खेप्न बाध्य भएको उनको भनाइ छ।
कैलालीका कमल चौधरीले पनि सामानको प्रकृति हेरेर भारतीय भन्सारकर्मीले रकम असुल्ने गरेको बताए। नाकामा नेपालीले भोगिरहेको समस्या सम्बन्धित नेपाली अधिकारीलाई पटकपटक जानकारी गराउँदा पनि समाधान नभएको उनले गुनासो गरे। ‘सामानअनुसार पैसा माग्ने समस्या छ। यसबारे नेपाली अधिकारीलाई पटकपटक जानकारी गराउँदा पनि समस्या समाधान भएको छैन,’ चौधरीले भने।
सीमा पार गर्ने क्रममा नेपाली नागरिकले भोग्नुपरेको यस्तो समस्याले चाडपर्वका लागि घर फर्किने यात्रुलाई थप सास्ती भएको छ। दसैँ नजिकिएसँगै कैलालीको त्रिनगर–गौरीफन्टा नाकाबाट स्वदेश फर्किने नेपालीको चाप छ। भारतका विभिन्न सहरमा रोजगारी तथा अन्य कामका लागि पुगेका नेपाली दैनिक हजारौँको सङ्ख्यामा स्वदेश फर्किरहेका छन्।