जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन जना घाइते
जाजरकोटः जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दुर्घटनामा चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्याला बस्ने २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्याला बस्ने दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै, जुनिचाँदे गाउँपालिका–३ स्याला बस्ने ३० वर्षीय दिलबहादुर भण्डारी, उनका ४ वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्।
उनीहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको छ। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। आज बिहान करिब २ः०० बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो।