सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि सर्यो, कांग्रेसलाई सहमतिमा ल्याउने प्रयास
धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बैठक आज मात्रै दोस्रो पटक सारिएको छ। चालु आर्थिक वर्षको बजेटमाथिको छलफल बहिष्कार गर्ने निर्णयमा पुगेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सहमतिमा ल्याउन सरकारले प्रयास थालेपछि मंगलबारका लागि निर्धारित प्रदेशसभा बैठक फेरि सारिएको हो।
मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्म सारिएको थियो। तर, १ बजे पनि बैठक बस्न नसकेपछि साँझ ५ बजेका लागि निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी ताराकुमारी जोशीले जानकारी दिइन्।
कांग्रेसले बजेटमाथिको छलफलमा सहभागी नहुने जनाएको थियो। कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै छलफलमा सहभागी नहुने बताएका थिए।
सरकार भने कांग्रेसलाई समेत सहमतिमा ल्याएर बजेट पारित गर्ने प्रयासमा छ। बजेटलाई लिएर सत्तारूढ दलभित्रै असन्तुष्टि देखिएपछि मंगलबार बिहान नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकसमेत बसेको थियो। बैठकमा बजेटका विवादित विषय छानबिन गर्न संसदीय समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको थियो। विवादित विषयलाई छानबिनमार्फत टुंग्याउँदै तत्कालका लागि बजेट पारित गर्ने सत्तारूढ दलको तयारी छ।