सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर–कर्णाली स्टारमा २० प्रतिभाको प्रतिस्पर्धा, तीन स्रष्टा सम्मानित

२०८३ असोज २५, १२:१० खबर संवाददाता

धनगढीः ‘सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार’को ग्राण्ड फिनालेमा २० जना प्रतिभाबीच प्रतिस्पर्धा भएको छ। प्रतियोगिताको अवसरमा कला, साहित्य र लोकसंस्कृतिमा योगदान पुर्‍याएका तीन अग्रज स्रष्टा सम्मानित भएका छन्।

शनिश्चर म्युजिक कम्पनी प्रा.लि.को आयोजनामा असोज २३ गते धनगढीस्थित होटल पौवामा सम्पन्न कार्यक्रममा गायनतर्फ १२ र नृत्यतर्फ ८ जना प्रतिस्पर्धीले प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. देवेन्द्रप्रसाद भट्ट ‘दीप्त’, वरिष्ठ देउडा गायक तथा सर्जक लालबहादुर थापा र वरिष्ठ थारू लोकगायक तथा सर्जक मनिराम चौधरीलाई सम्मान गरिएको थियो।

भट्टले नेपाली भाषा–साहित्य तथा अनुसन्धान, थापाले देउडा गीत–संगीत र चौधरीले थारू भाषा, साहित्य तथा लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका छन्।

नगदसँगै सांगीतिक अवसर

प्रतियोगितामा प्रथम हुनेले दुई लाख रुपैयाँ नगद, चार लाख रुपैयाँ बराबरको अडियो तथा म्युजिक भिडियो निर्माण, दुई वर्षको सम्झौता र थाइल्यान्ड, मलेसिया तथा सिंगापुर भ्रमणको अवसर पाउने व्यवस्था थियो।

दोस्रो हुनेलाई ७० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १३ हजार र पाँचौँ हुनेलाई पाँच हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको थियो। उनीहरूलाई क्रमशः तीन लाख, दुई लाख, एक लाख र ५० हजार रुपैयाँ बराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसरसमेत दिने व्यवस्था थियो।

प्रतियोगिताले सुदूरपश्चिम र कर्णालीका नयाँ गायन तथा नृत्य प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्ने मञ्च प्रदान गरेको आयोजकको विश्वास छ।

कमेन्ट लोड गर्नुस