सुदूरपश्चिमको बजेट अन्योलमै, प्रदेशसभा बैठक २४ गते
धनगढीः चालु आर्थिक वर्ष सुरु भएको तीन महिना बित्न लाग्दा पनि बजेट ल्याउन नसकेको सुदूरपश्चिम प्रदेश सरकार थप अन्योलमा परेको छ। बजेट प्रस्तुत गर्ने तयारीमा रहेको प्रदेश सरकारले बोलाएको प्रदेशसभा बैठक नै आगामी असोज २४ गतेसम्मका लागि स्थगित भएपछि बजेट आउने समय पनि पछाडि धकेलिएको हो।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी ताराकुमारी जोशीका अनुसार बैठक असोज २४ गते बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको छ। ‘२४ गतेको बैठकमा पनि बजेट प्रस्तुतिको कार्यसूची छ,’ उनले भनिन्।
यसअघि बजेट प्रस्तुत गर्न बुधबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरी बिहीबार बिहान ८ बजेका लागि सारिएको थियो। तर, बिहीबार बिहान बस्ने भनिएको बैठकसमेत स्थगित भएपछि प्रदेश सरकारको बजेट प्रस्तुत गर्ने तयारी तत्कालका लागि रोकिएको छ।
अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पुनर्लेखन गरेर चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिएको थियो। तर, बजेटकै विषयमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले लिखित जवाफ माग्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएपछि सरकार थप कानुनी अप्ठ्यारोमा परेको हो।
अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई असोज २३ गते बोलाएको छ।रिटमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म अघिल्लो सरकारले प्रदेशसभामा पेस गरेको बजेटबाहेक नयाँ बजेट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश माग गरिएको अधिवक्ता उपाध्यायले बताए।
सरकारले यसअघि पटकपटक बजेट ल्याउने मिति तोक्दै आए पनि राजनीतिक विवाद, कानुनी जटिलता र प्रक्रियागत समस्याका कारण बजेट ल्याउन सकेको छैन। जसका कारण चालु आर्थिक वर्ष सुरु भएयता प्रदेश बजेटविहीन छ। अघिल्लो सरकारले असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गरे पनि उक्त बजेट पारित हुन सकेको थिएन।