धनगढी–१२ मा बाटोमै बाँधिन्छ पशु, आवागमनमा सास्ती
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँस्थित शान्ति टोलमा बाटो नै पशु बाँध्ने थलो बनेपछि आवागमनमा सास्ती हुन थालेको छ। सार्वजनिक बाटोमा गाई, गोरु र भैँसी बाँध्ने तथा त्यहीँ गोबर र अन्य फोहोर थुपार्ने गर्दा सडक साँघुरो हुनुका साथै दुर्गन्धित हुने गरेको
स्थानीयको गुनासो छ। यसले पैदलयात्रु तथा सवारीसाधनको आवागमनसमेत प्रभावित हुने गरेको उनीहरू बताउँछन्।
स्थानीय दिपक बराईलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक बाटोको अवस्थाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार केही पशुधनीले सार्वजनिक बाटोमै पशु बाँध्ने गरेका कारण लामो समयदेखि टोलवासी समस्यामा छन्।
‘धनगढीलाई सफा र व्यवस्थित बनाउने अभियान चलिरहेका बेला सार्वजनिक बाटोमै पशु बाँध्ने र फोहोर गर्ने अवस्था देखिनु दुःखद हो,’ बराईलीले भने।
स्थानीयका अनुसार समस्या समाधानका लागि वडा कार्यालयलाई पटकपटक जानकारी गराइएको छ। वडा कार्यालयले सूचना जारी गर्ने आश्वासन दिए पनि अहिलेसम्म प्रभावकारी कदम नचालिएको बताइएको छ।
सार्वजनिक बाटोमा पशु बाँध्ने र फोहोर गर्ने कार्य रोक्न स्थानीयले धनगढी उपमहानगरपालिका र वडा कार्यालयसँग तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।
उनीहरूले सार्वजनिक स्थल अतिक्रमण गरी बाटो अवरुद्ध गर्ने तथा फोहोर गर्नेहरूमाथि उचित जरिवानासहितको कारबाही गर्नुपर्ने बताएका छन्।
केही पशुधनीको लापरबाहीका कारण सिंगो टोलवासीले सास्ती खेप्नुपरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।